सेती नदीले लियो सात जनाको ज्यान


विमल विष्ट, डोटी।  डोटीमा बग्ने सेती नदीले गएको वैशाख महिना यता स्थानीय सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाख महिना यता मात्रै सेती नदीमा नुहाउने क्रममा सात जनाले अकालमै ज्यान गुमाइसकेका छन्।

करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने भनी ‘पश्चिम सेती’का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयको ज्यान लिने गरेको छ। पाँच महिनामा सात जनाको सेती नदीकै कारण ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले दिनुभएको जानकारीअनुसार जेठ महिनाको ३ गते जिल्लाको केआईसिंह गाउँपालिका–५ का लोकेन्द्रबहादुर रावलको सेती नदीमा डुबेर मृत्यु भयो। शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएका उहाँको शव नौ दिनपछि फेला परेको थियो।

त्यस्तै शिखर नगरपालिका–४ की धर्माकुमारी महरा जेठ ५ गते सेती नदीमै नुहाउने क्रममा डुबेर बेपत्ता भइन्। फुपूको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडा गाउँ नजिक रहेको सेती नदीमा बेपत्ता भएकी थिइन्।

प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन। यस्तै आदर्श गाउँपालिका–५ लामिखालका पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुबेर बेपत्ता भए। गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११, गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुबेर बेपत्ता भएका थिए।

उहाँको शव पनि १३ दिनपछि फेला परेको थियो। यसै क्रममा आदर्श गाउँपालिका–६ गिरीचौकाकी बसु अधिकारी असार ६ गते सेती नदीमा बेपत्ता भईन्। मानसिक रुपले अस्वस्थ रहेकी रसेती नदीमा हाम फालेकी भनिएकी अधिकारीको शव पनि अहिलेसम्म फेला परेको छैन।

शिखर नगरपालिका–१० का बालक गोविन्द बलायर असार ६ गते सेती नदीमा डुबे। उनको शव डुबेको ठाउँबाट करिब तीन किलोमिटर तल फेला पर्यो। त्यस्तै दिपायल सिलगढी नगरपालिका–८ को नारीदाङमा हाम फालेको भनिएकी आदर्श गाउँपालिका–४ का मनि पार्कीको शव पनि अहिलेसम्म फेला परेको छैन्।

त्यसैगरी भदौ १ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी ८ वर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुबेर मृत्युभयो। मामाको घर गएकी करिश्मा १ गते आइतबार बिहान करिब १० बजे सेतीमा डुबेकी हुन्। उनको शव बगेको ठाउँबाट करिब एक किलोमिटर तल मटेलामा फेलापरेको थियो।

सेती नदीमा पानीको बहाव तेजिलो भएका कारण नुहाउन जाँदा सामान्य लापरबाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी धामीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘सेती नदीको पानी अन्य नदीको तुलनामा बढी चीसो र तेजिलो छ, जसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्तिहरू सेती नदीमा छिट्टै डुब्ने गर्छन्।’ चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुब्ने गरेको उहाँको भनाइ छ।

नदीमा डुब्नेमा अधिकांश नुहाउने क्रममा डबेका छन्। सेती नदीमा वर्षेनी स्थानीयको अकालमै ज्यान जान थालेकोले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको शिखर नगरपालिका–१ का वडा अध्यक्ष खड्कबहादुर शाहीले नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले भन्नुभयो, ‘नदी छेउँछाउँका स्थानीयहरू बढी जोखिममा छन्, सबै मिलेर जनचेतनामूलक कार्यक्रम गर्न जरुरी भएको छ।’