नेपाल समाचारपत्र, काभ्रे । चीनको युनान विश्वविद्यालयमा नेपालका नगर–प्रमुख र उप–प्रमुखहरू शहरी पुर्वाधार विकासको अवधारणाका बारेमा प्रशिक्षण लिइरहेका छन्। नेपालका विभिन्न १८ नगरपालिकाका नगर–प्रमुख र उप–प्रमुख सहभागी रहेको उक्त १० दिने प्रशिक्षण भदौ १२ गतेसम्म सञ्चालन हुनेछ।
चीनको अर्थ राजनीतिक र शहरी पूर्वाधार विकासको अवधारणा तथा साँस्कृतिक र सामाजिक रुपान्तरणका विषयमा विभिन्न तहमा कक्षा संचालन भइरहेको नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिनुभयो
। ‘द्रुत गतिमा विकास गरिरहेको चीनको अर्थतन्त्र र शहरी विकासका बारेमा हरेकदिन कक्षामा जानकारी गराइएको छ’ –ब्याञ्जूले भन्नुभयो– ‘नेपालका नगरपालिकाहरू सरकारकारूपमा विकास भएसँगै जनताको अपेक्षा र अधिकारलाई आर्थिक समृद्ध र शहरी विकासको माध्यमबाट अगाडि बढाउन आवश्यक योजना र कार्यान्वयन विधिका बारेमा हामी सिकिरहेका छौं।’
नेपाल सरकार र नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयमा आयोजना गरिएको उक्त प्रशिक्षणमा धुलिखेलसहित बुढानीलकण्ठ, बुटवल, पोखरा, मेची, खाँदबारी, दमक, जिरी, भीमदत्त, धरान, हरिवन, तुल्सीपुर, वीरेन्द्रनगर र निजगढका नगर–प्रमुख र केहीमा नगरपालिकाको तर्फबाट उप–प्रमुख सहभागी छन्।
‘नेपालले नयाँ संविधान प्राप्त गरिसकको र मुलुक संघीयतामा प्रवेश गरिसकेपछि शहरी अवधारणामा नयाँ आयाम थप्नुपर्छ भन्ने उद्देश्यले नगरपालिका संघले शहरी जनशक्तिको विज्ञता, शहरी योजना र शहरी अर्थतन्त्रलाई मजबुद बनाउन लागी परेका छौं’ –अध्यक्ष ब्याञ्जूले बताउनुभयो– ‘त्यसको लागि हामीले संसारभरिका अनुभवलाई सिक्न र बुझ्न जरुरी छ।’
पछिल्लो समय संघ र प्रदेश सरकारले शहरी क्षेत्रको विकासका लागि विभिन्न योजना बनाएका छन्। स्थानीय सरकारले पनि उक्त अवधारणाबाट शहरी क्षेत्रको विकास गर्ने र दैनिक भइरहेको प्लटिङ तथा अव्यवस्थित शहरीकरणलाई व्यवस्थित बनाउन र नगरको अर्थतन्त्र उकास्ने योजना कार्यान्वयन गरी चीनका शहर जस्तै विकासोन्मुख हुन थप बल पुग्ने सहभागीले बताएका छन्।











प्रतिक्रिया