बिक्रीका लागि हाटबजार पुर्याइएका कृषिउपज घर फर्काउनु नपर्ने

0
Shares

रामधन राई, खोटाङ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेल बजारस्थित बुधबार र शनिबार लाग्ने हटियामा कृषकले पुर्याएका उपज बिक्री नभए नगरपालिकाले खरिद गरिदिने भएपछि बिक्रीका लागि पुर्याइएका कृषि उपज घर फर्काउन नपर्ने भएको छ।

उत्पादन गरिए पनि बजार नपाउँदा निराश बन्ने गरेका कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो। कृषकले उत्पादन गरी बिक्रीका लागि बजार ल्याएका तरकारी, फलफूललगायतका कृषिउपज बिक्री नभएमा नगरपालिकाले लागत अर्थात समर्थन मूल्यमा खरिद गरिदिने नगर प्रमुख रिजालले प्रष्ट पार्नुभयो।

नगरपालिकाले कृषकले ल्याएका कृषिउपज हटियाको समयभित्र बिक्री गर्न नसकेमा समर्थन मूल्यमा लिई बिक्री गर्नका लागि जिल्ला सहकारी संघसँग सहकार्य गरेको छ। उक्त उपजलाई संघले दिक्तेल बजारमा सञ्चालन गरेको ‘ऐंचोपैंचो’ पसलबाट थोरै मुनाफा गरी बिक्रीगर्ने व्यवस्था गरिएको सहकारी संघका अध्यक्ष अनिल जोशीले बताउनुभयो।

उक्त सहकारी पसलबाटसमेत बिक्री नभई नष्ट गर्नुपर्ने अवस्था आए सो बापतको रकम नगरपालिकाले सहकारी पसललाई दिने व्यवस्था गरिएको जनाइएको छ।
नगरपालिकाले यस्तो व्यवस्था गरेपछि व्यवसायिक उत्पादनमा लागेका कृषकहरू उत्साहित बनेका छन्।

यसअघि, नगरपालिकाले उत्पादन गर्न उत्पे्ररित गरे पनि बजार नपाउँदा मिहिनत खेर गएकाले कृषक निराश बन्नेगरेका थिए। स्थानीय सरकारले देशमै पहिलो पटक यस्तो व्यवस्था गरेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायको अनुमान छ। उत्पादन गर्ने कृषकका हितमा भएको यस्तो व्यवस्था सराहनीय भएको उहाँले सुनाउनुभयो।

यसैबीच सर्वसाधारण ग्राहकलाई प्राथमिकता दिँदै बिहानको ६ बजेपछि मात्र हटियामा किनबेच गर्न पाउने व्यवस्था कार्यान्वयन गरिएको छ। कृषकको मूल्यमा खरिद गर्न पाउँदा सर्वसाधारण ग्राहकले स्वतः कम मूल्यमा सामग्री खरिद गर्न पाउने भएका छन्। उक्त व्यवस्थाका कारण अँध्यारोमा नै कम मूल्यमा व्यापारीको सामान उठाएर बढी मूल्यमा बेच्ने बिचौलिया पछाडि हट्ने संभावना बनेको छ।ु