नक्कली विमान परिचारिका बनेर ठगी गर्ने युवती प्रहरीको फन्दामा

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर । आफूलाई जेट एयरलाइन्सको विमान परिचारिका भन्दै विभिन्न मुलुकमा रहेका नेपाली युवालाई प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवती प्रहरीको फन्दामा परेकी छिन्।

नक्कली फेसबुक एकाउन्ट बनाएर ठगी गरेको पुष्टि भएपछि प्रहरीले झापा जिल्ला अर्जुनधारा नगरपालिका–६की तविता राईलाई पक्राउ गरेको हो। काठमाडौं र खोटाङ घर भई जापान बस्ने दुई युवाले आफू ठगिएको थाहा पाएपछि बिर्तामोड प्रहरीमा उजुरी दिएको आधारमा प्रहरीले राईलाई पक्रेको थियो।

मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरी युवासँग नजिक हुने युवती राईले गहिरो प्रेम सम्बन्ध बनेपछि विवाहका लागि प्रस्ताव राख्ने गरेको प्रहरीले जनाएको छ।

उनीहरूले युवतीलाई मोबाइल र पैसा पठाएका थिए। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्रशकुमार श्रेष्ठले जानकारी दिनुभयो।

युवती राईले आफ्नो फेसबुकमा फरक–फरक नाम र तस्वीर राखेर युवाहरूसँग कुराकानी गर्दै फसाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताउनुभयो।

मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरी युवासँग नजिक हुने युवती राईले गहिरो प्रेम सम्बन्ध बनेपछि विवाहका लागि प्रस्ताव राख्ने गरेको प्रहरीले जनाएको छ।

त्यति मात्र नभएर उनले विभिन्न समस्या देखाई झुक्याई रकम ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी युवालाई धम्कीसमेत दिने गरेको प्रहरीको भनाइ छ।
आफ्नो परिचय दिने क्रममा युवतीले बुबा अमेरिकामा बस्ने, आमा डाक्टर र दाजु पाइलट हुनुहुन्छ भन्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले झापाको एक निजी विद्यालयमा पढाउने राईले चर्चित गायक राजेशपायल राईलाई समेत झुक्याइरहेको प्रमाण फेला परेको छ।