नेपाल समाचारपत्र, हेटौंडा। गाँजाखेती पश्चिम मकवानपुरको कहिल्यै निको नहुने सामाजिक रोगको रूपमा रहेको छ। यसलाई निमिट्यान्न पार्न हरेक वर्ष राज्यका तर्फबाट भएका प्रयत्न निष्प्रभावी हुने गरेको पाइएको छ।
यसै क्रममा बुधबार प्रहरीले मनहरीमा प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत मकवानपुरको राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाका जनप्रतिनिधिसँग गाँजाखेती सम्बन्धी छलफल गर्दै गाँजा नियन्त्रण गर्ने उद्देश्यले यस वर्षबाट गाँजा खेती गर्ने किसानलाई समेत कारबाही गरिने बताएको छ।
छलफलमा आफ्ना धारणा राख्दै अधिक गाँजा उत्पादन हुँदै आएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले गाँजाका कारण दिनानुदिन समाज भड्कँदै गएको बताउनुभयो। ‘समाजमा समानुपातिक विकास नहुनाले शहर र गाउँबीच द्वन्द्वले पो गाँजाखेती भइरहेको छ कि ?’, उहाँको आशंका छ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाँजाको कारण समाज भड्किने दिशातिर गइरहेको भन्दै चिन्ता व्यक्त गर्दा मकवानपुरका प्रहरी प्रमुख (एसपी) मुकेशकुमार सिंहले जिल्लामा लागूऔषधको प्रयोेग र ओसारपसारको वस्तुस्थितिबारे तथ्यांक प्रस्तुत गर्नुभयो।
अघिल्ला वर्षमा गाँजा नष्ट गरेर फर्किने गरेको प्रहरीले यस वर्षदेखि गाँजा किसानलाई पनि पक्राउ गरी मुद्धा चलाउने भएको छ। प्रहरीले पहिला ब्याड र बारीमा लगाइएको गाँजामात्र नष्ट गथ्र्योे, तर गाँजा खेती यसरी निर्मूल नभएपछि यस वर्षदेखि गाँजा फँडानीसँगै गाँजा रोप्नेलाई पनि पक्राउ गरी कारबाही गर्ने तयारी रहेको प्रहरी उपरीक्षक सिंहले छलफल कार्यक्रममा बताउनुभयो।
‘राज्यले निषेध गरेको काम रोक्नु हाम्रो कर्तव्य हो। लगातार ३–४ वर्ष फँडानी गरेका हौं, अब फँडानीसँगै किसानलाई पक्राउ गर्ने र कानुनी दायरामा ल्याउने काम हुनेछ,’ प्रहरी उपरीक्षक सिंहले छलफल अगाडि बढाउँदै भन्नुभयो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका ६४ प्रतिशत थुनुवा लागूऔषध कारोबारमा संलग्न रहेका कारण पक्राउ परेको प्रहरीले जनाएको छ। लागूऔषध सम्बन्धी अपराधमा गाँजा ओसारपसारमा व्यक्तिको संलग्नता बढी पाइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जनप्रतिनिधिलाई अघिल्लो वर्षको प्रतिबद्धता सम्झन आग्रह गर्नुभयो। ‘अघिल्लो वर्ष पनि यस्तै कुरा भएको थियो। प्रतिफल आउने काम कति गरियो ?’, प्रजिअ तामाङले जनप्रतिनिधि सामु प्रश्न गर्नुभयो।
उत्पादनसँगै मकवानपुरका गाँजाको अवैध कारोबार पनि कम छैन्। थोरै समयमा धेरै कमाउने र उच्च महत्वाकांक्षी जीवनशैली जिउने अभिलाषामा लागूऔषध गाँजा तस्करी गर्ने अधिकांश युवा छन्। पछिल्लो समय लागुऔषध कारोबारीको बिगबिगी डरलाग्दो गरी बढेको छ। विलासी र उच्चस्तरको जीवनशैली जिउने होडबाजीका कारण युवाहरू दिनानुदिन गलत बाटोमा लाग्ने गरेको प्रहरीको ठम्याई छ।











प्रतिक्रिया