मच्छेगाउँमा राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने

0
Shares

काठमाडौं, (नेस) ।यही भदौ २१ गते मच्छेगाउँमा चौथो राष्ट्रिय लाखे नाच प्रदर्शनी हुने भएको छ।नेपाल सांस्कृतिक कला मन्दिरले चन्दागिरि नगरपालिकाको सहयोगमा सो नाच आयोजना गर्न लागेको हो।

संस्कृति संरक्षणसँगै पर्यटकीय प्रवद्र्धनका लागि सो प्रदर्शनीलाई यस वर्ष पनि निरन्तरता दिइएको हो। नेपाल पर्यटन बोर्डले पनि प्रदर्शनीको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने भएको छ। संस्कृति संरक्षणलाई पर्यटकीय प्रवद्र्धनसँग जोडेर प्रदर्शनी गर्न लागेको मन्दिरका अध्यक्ष रमेश शाहीले जानकारी दिनुभयो।

सो प्रदर्शनी चन्दागिरि नगरपालिका–१० स्थिति मच्छेगाउँको भलिबल खेल मैदानमा दुई दिनसम्म चल्ने भएको छ।अध्यक्ष शाहीका अनुसार सो नाचका लागि तयारी तीव्र गतिमा भइरहेको छ। नाचसँगै सहभागीहरूलाई सम्मान गरिने भएको छ।

सो अवसरमा स्थानीय लोकभाका, भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडेजात्रा, गाईजात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि समेत व्यंग्य प्रहार गर्ने कार्यक्रम रहेको पनि बताइएको छ।

नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छ। तीमध्येको एक हो लाखे नाच। उपत्यकाका विभिन्न स्थानमा जात्रा आयोजना हुँदा र विशेष गरेर गाईजात्रा र इन्द्र जात्राको आसपासमा यो नाच भक्तपुर, बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तनलगायत देशका विभिन्न भागमा देखाइन्छ।

लाखे नाच विशेष गरेर धाः र भुस्याः बाजा बजाएर नचाइन्छ। खिं, पछिमा, नायिखिं, धिमे बजाएर पनि लाखें नाच नचाइन्छ। अहिले विशेषतः रकम अभाव, सांस्कृतिक चेतनाको कमीले लाखे नाच लोप हुन लागेको छ।