नेपाल समाचारपत्र, काठमाडौं ।नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाको अरविन्द्रमान सिंको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। शाखाको तेस्रो अधिवेशन र पाँचौं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा प्रवीण महर्जन, सचिवमा रत्नकाजी महर्जन ‘मन’, कोषाध्यक्षमा राजेन्द्र मानन्धर ‘नीलः’, सहसचिवमा शरण डंगोल र सहसचिव (महिला)मा विनीता खड्गी रहनुभएको छ। त्यसै गरी सदस्यहरूमा शैलेशकुमार डंगोल, राजेन्द्र मानन्धर, रेखा शाक्य, रोजिता बुद्धाचार्य, मनोजरत्न शाही, विजयकुमार सिं, सहयोग रञ्जित, किचः सिंह ज्यापु र विमला मानन्धर रहनुभएको छ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकारले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले महानगरपालिकाको राम्रो वा नराम्रो विषय लेख्दा सत्यतथ्य ‘दूधको दूध, पानीको पानी’ छुट्याएर समाचार लेख्न पनि पत्रकारलाई आग्रह गर्नुभयो।
‘तथ्यपरक भएर समाचार सम्प्रेषण गर्नुहोस् यही नै महानगरपालिकाका लागि ठूलो योगदान हुनेछ।’ –मेयर शाक्यले भन्नुभयो।समाजमा उत्तेजना नभई चेतना आवश्यक रहेको बताउँदै मेयर शाक्यले महानगरपालिकालाई जवाफदेही र चेतना फैलाउन पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
नेपाली पत्रकारिता समावेशी बनाउन विभिन्न स्तरबाट पहल हुनुपर्ने उल्लेख गर्दै पत्रकार दबूको यस दिशामा अपेक्षाकृत काम गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
सो अवसरमा वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले पत्रकारिताको विकासको लागि दबूले महत्वपूर्ण कार्य सकोेस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
सो अवसरमा ३ नं प्रदेश सभा सदस्य राजेश शाक्य, जीवन डंगोलले पत्रकार दबूको भवन निर्माणका लागि प्रदेशमा बजेट विनियोजित गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पत्रकार दबूका केन्द्रीय श्रीकृष्ण महर्जनले नेपाली पत्रकारिता क्षेत्रमा समावेशी बनाउन पत्रकार दबूले काम गर्दै आएको बताउनुभयो।
विष्णु नाति फोटोपत्रकारिता कोष स्थापना
सोही अवसरमा शाखाका अध्यक्ष एवं वरिष्ठ फोटा पत्रकार नातिकाजी महर्जनले विष्णु–नाति फोटोपत्रकारिता पुरस्कार स्थापना गरेको घोषणा गर्नुभयो। विष्णु –नाति फोटो पत्रकारिता पुरस्कारको नाउँमा वर्षेनी एक जना फोटो पत्रकारलाई पुरस्कार प्रदान गर्न उहाँले सो पुरस्कार स्थापना गर्नुभएको हो।
सो पुरस्कारको नगद राशी १५ हजार रुपियाँ रहेको छ। शाखाका अध्यक्ष महर्जनले पुरस्कारको कोषमा राख्न १ लाख २५ हजार रुपियाँ कोषका अध्यक्ष एवं वरिष्ठ पत्रकार दानदास श्रेष्ठलाई प्रदान गर्नुभयो।
फोटो पत्रकारितामार्फत कला, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याएका पत्रकारलाई सो पुरस्कार प्रदान गरिने कोषका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।











प्रतिक्रिया