साझाजस्तै नगरबस

0
Shares

नेपाल समाचारपत्र, बाँके। ‘एक जना यात्रु भए पनि हाम्रो बस गन्तव्यसम्म पुग्छ। बसमा जेष्ठ नागरिक, अपाङ्गता, विद्यार्थीलाई व्यवस्थाअनुसार छुट दिन्छौं, नगरबस सञ्चालनको संघारमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भन्नुभयोे– ‘साझा बस जसरी नै हाम्रो नगर बस सञ्चालनमा आउँछ।’

लक्षितवर्गको पैसाबाट खरिद गरिएका सात वटा नगर बसले केही दिनदेखि गाउँ–शहरलाई जोड्दै छ। बसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि कार्यविधि बनाइएको छ। तीन करोड ४५ लाख ५० हजार ७ सयमा खरिद गरिएका सात वटा बसको आम्दानी लक्षित वर्गको उत्थानका लागि खर्च गरिने मेयर डा. धवलशमशेर राणाले बताउनुभयो।

खासमा अहिले नै नगर बस किन्ने उपमहानगरपालिकाको योजना नरहेको देखिन्छ। लक्षितवर्गका लागि केन्द्रसँग पैसा मागिएको थियो। आर्थिक वर्षको अन्तिममा माग बमोजिम ५ करोड रूपियाँ आएपछि त्यसलाई कसरी खर्च गर्ने बहसको विषय बन्यो।

लक्षित वर्गलाई बिनाधितोमा ऋण दिन पनि प्रक्रिया लामो लाग्थ्यो। प्रक्रियामा जादाजादै पैसा फिर्ता गर्नुपर्ने अवस्था आउने भएकाले त्यही पैसाले नगर बस खरिद गरिएको थियो।

मेयर राणाका अनुसार, विगतमा पनि नगर साझेदारी कार्यक्रम प्रभावकारी भएकाले बसमा लक्षित वर्गबाट कर्मचारी राख्ने, आम्दानी नगर साझेदारी शीर्षकमा राख्ने निर्णय गरेर अघि बढेका बढिएको छ।

लक्षित वर्गबाट चालक र सहचालक लिइएको छ। तत्काललाई महिला सहचालकको रूपमा रहेका छन्। बस चलाउन सक्ने भएपछि महिलालाई नै चालक बनाउने रणनीति रहेको छ। सिटभन्दा बढी यात्रु नराख्ने, एकजना मात्रै यात्रु भए पनि गन्तव्यसम्म जाने, जेष्ठ नागरिक, अपाङ्गता, विद्यार्थीलाई सहुलियत दिइनेछ।

लक्षितवर्गका लागि आएको पैसाले बस किनेकोमा एकथरीमा चर्को विरोध रहँदै आएको छ। त्यसबारेमा कार्यकारी अधिकृत हरि प्याकुरेलले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार नै काम गरेको जानकारी दिनुभयो।

नेपालगञ्जदेखि कोहलपुर, खजुरा, गौघाट, कम्दी, बेतहनीलगायतलाई रुट बनाउने तयारी भएको छ। अहिलेसम्म यी ठाउँमा बस सञ्चालनमा छैनन्। विभिन्न नामका यातायात व्यवसायीहरूले फाटफुट माइक्रोबस सञ्चालनमा ल्याएका छन्।

महानगरको अभियानमा लम्केको नेपालगन्जलाई गाउँ–शहर जोड्ने यस अभियानले राम्रै नतिजा दिने आशा गरिएको छ।लक्षित वर्गको पैसाबाट खरिद गरिएका सातवटा नगर बसले केही दिनदेखि गाउँ–शहरलाई जोड्दै छ।

बसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि कार्यविधि बनाइएको छ। तीन करोड ४५ लाख ५० हजार ७ सयमा खरिद गरिएका सात वटा बसको आम्दानी लक्षित वर्गको उत्थानका लागि खर्च गरिने मेयर डा. धवलशमशेर राणाले बताउनुभयो।