रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाका वडाध्यक्षले राज्यबाट प्राप्त सेवा सुविधाबापतको रकम सामाजिक सङ्घ/संस्थालाई प्रदान गर्दै आउनुभएको छ।
वडाध्यक्ष लिला चौहानले आफूले पाएका सम्पूर्ण तलबभत्तामा आफ्नै व्यक्तिगत रकमसमेत थपी सामुहिक रूपमा काम गरिरहेका संघसंस्थालाई वितरण गर्नुभएको हो।
वडाध्यक्ष चौहानले यो वर्ष राज्यबाट प्राप्त एक लाख २० हजार रूपियाँमा एक लाख दश हजार थप गरी हालै मात्र सामाजिक सङ्घ/संस्थालाई प्रदान गर्नुभएको छ।
गत वर्ष पनि उहाँले आफ्नो सेवा सुविधा बापतको रकममा अन्य रकम थप गरी सामूहिक रूपमा सामाजिक विकासका लागि वितरण गर्नुभएको थियो। यो वर्षको रकम वडामा गठन भएको १३ वटा आमा समूहलाई दश÷दश हजार, उत्कृष्ट टोल विकास समितिलाई दश हजार, नेवा पुँच खललाई ५० हजार रूपियाँ प्रदान गर्नुभएको छ।
यस्तै वडाध्यक्ष चौहान आफैंले अभिभावकत्व ग्रहण गरेको छात्र नीरकुमार खत्रीलाई दश हजार र धामीलाई तीन हजार रूपियाँ प्रदान गर्नुभएको वडा सदस्य हरि चाम्लिङले जनाउनुभयो।आमा समूहलाई प्रदान गरिएको रकम घुम्ती कोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिनाब्याज चलाउन दिनेगरी प्रदान गरिएको हो।
बाँकी रहेको १७ हजार रूपियाँ रकम लोपोन्मुख अवस्थामा पुगेको संगिनी नृत्य टोलीका लागि साडी खरिद गर्न सहयोग गर्नुभएको जनाइएको छ। वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त रकम तथा सामाग्री वितरण गरिएको हो।
प्रत्येक आमा समूहका अध्यक्ष र वडाबीच प्राप्त रकम फजुल खर्च नगर्ने सर्तमा दोहोरो सम्झौतासमेत गरिएको छ।











प्रतिक्रिया