नयाँ पुस्तामा सर्दै पाल्पाको लाखे नाच

0
Shares

पाल्पा, (नेस)।  पाल्पामा प्रसिद्ध लाखे नाच पछिल्लो समय हराउँदै जान लागेको सन्दर्भमा यहाँका केही युवाहरूले भने यसलाई जीवन्तता दिइ जोगाउने काम गरेका छन्।
पछिल्लो समयमा कतिपय युवाहरूलाई नै संाँस्कृतिक विचलन ल्याएको र संस्कृति लोप बनाउँदै लगेको आरोप लागेका बेला पाल्पाका युवाहरू भने संस्कृतिको प्रवद्र्धनका लागि जुटेका हुन्।

केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवाहरू कस्सिएका हुन्। खास गरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको मारमा परी विलुप्त प्राय हुन थालेपछि पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका ४ स्थित भैरवस्थानका युवाहरूले यसको संरक्षण गर्नका लागि कस्सिएका छन्।

लाखे नाच खास गरी घण्टाकर्णदेखि शुरु भई कृष्णजन्माष्टमीसम्म नाच्ने परम्परा रहेको छ। भूतप्रेत नलागोस र पापी आत्माले दुःख नदियोस भनेर नाचिने यो नाच केही वर्ष पहिलेसम्म जिल्लाको सदरमुकाम तानसेन, पूर्वको ताहु, आर्यभञ्ज्याङ, खालीवन, पश्चिमको सामाकोट, भैरवस्थान, हार्थौक, हिरापोखरा, छहरालगायतका स्थानमा रातिको समयमा देखाउने र नाच्ने गरिन्थ्यो।

तर हिजोआज नगन्य रूपमा मात्रै यो नाच नाचिन्छ। यो नाच जोगाउनका लागि युवाहरूले परम्परागत रूपमा नाचिने समयमा मात्र होइन अरू समयमा पनि लागिपरेका छन्। त्यसैले युवाहरूले पाल्पाका विभिन्न स्थानका साथै माग भएको खण्डमा अरू ठाउँमा पनि गएर आफ्नो संस्कृति देखाउन पछि नपर्नै स्थानीय युवा राजकुमार नेपालीले बताउनुभयो।

मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुई जना एक जना लाखे र अर्काै भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरेको पाइन्छ भने भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।