यमलाल भुसाल, बुटवल । प्रदेश पाँचको बुटवलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको मातहतमा स्नातक तहमा कानुन विषय पढाइ हुने भएको छ। प्रदेशमा कानुनी विषयमा स्नातक तहको अध्यापन गराउने विश्वविद्यालय नभएकाले प्रदेश सरकारको आर्थिक सहयोगमा सोको व्यवस्था गरिएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयको गत साउन २९ गतेको विश्वविद्यालय सभाले कानुनमा स्नातक तहको अध्यापन गराउने निर्णय गरेको हो। लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई प्रदेश छ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले संघीय सरकारसंग प्रदेश विश्वविद्यालय स्थापना गर्ने विषयमा समेत कुरा भइरहेको जानकारी दिनुभयो।
उहाँले प्रदेश सरकारले प्रदेशमा नयाँ विश्वविद्यालय स्थापना गर्न पहल थालेको समेत बताउनुभएको छ। उहाँले प्रदेश विश्वविद्यालय स्थापनाका लागि मन्त्रिपरिषद्बाट निर्णय गरी काम अघि बढाएको जानकारी दिनुभयो।
मन्त्री बरालले नयाँ विश्वविद्यायल स्थापना गर्ने सन्दर्भमा संघीय सरकारसंग सकभर अहिलेसम्म स्थापना भएका विश्वविद्यालयलाई समायोजन गर्ने गरी छलफल चलिरहेको बताउनुभयो।
उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयसंग स्नातक तहमा कानुन विषय पढाइका लागि प्रदेश सरकारले सहकार्यको हात अघि बढाएको भन्दै त्यसका लागि आवश्यक सहयोग उपलव्ध गराउने सहमति भएको जानकारी दिनुभयो।
मन्त्री बरालले प्रदेश सरकारले नयाँ विश्वविद्यालय स्थापना गरेर सञ्चालन गरेपनि लुम्बिनी बौद्ध विश्वविद्यालयसंगको सहकार्य भने जारी नै रहने बताउनु भयो। कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार तिलक राम आचार्यले प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालले सुरु गर्न लागेको कानुन विषयमा स्नातक तह सञ्चालनका लागि सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो।











प्रतिक्रिया