नेपाल समाचारपत्र, काठमाडौं। नेपालको इतिहासमा पहिलोचोटी भिडियोमार्फत मन्त्रिपरिषद्को बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका क्रममा सिंगापुर रहनुभएको अवस्थामा सोमबार भिडियो कन्फेरेन्समार्फत उक्त बैठक बसेको हो।
उक्त बैठकमा प्रधानमन्त्री ओली ‘भर्चुअल’ (अभौतिक) रूपमा उपस्थिति हुनुभएको हो।यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला सो प्रविधि प्रयोग गरेर बैठक बस्न मिल्ने गरी सरकारको कार्यसम्पादन नियमावली, २०६४ मा संशोधन गरेको थियो।
प्रधानमन्त्री ओली गत बिहीबार मात्र स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको छ। उहाँको यो भ्रमण दुई साताभन्दा लामो हुनसक्ने भएकाले सो प्रविधिबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी व्यवस्था मिलाइएको हो।
प्रधानमन्त्री ओलीले एक ट्वीटमार्फत् प्रविधि र प्राविधिकलाई धन्यवाद दिंदै लेख्नुभएको छ– ‘पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो। मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद।’











प्रतिक्रिया