रविसहित तीनै जना रिहा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा रिहा भएका छन्।

 

उनीसँगै पक्राउ परेकी बीपी अस्पताल सामाखुसीमा कार्यरत रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारिखमा छाडिएको छ भने अर्का पत्रकार युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ। उनीहरू सोमबार नै उक्त धरौटी रकम बुझाएर रिहा भएका छन्।

 

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसुरमा धरौटी लिएर छाड्न आदेश दिएको हो।न्यायाधीश रावलको इजलासले कार्यक्रम प्रस्तोता लामिछानेसहित तीनै जनालाई अब देशबाहिर जाँदा अदालतको अनुमति लिनुपर्ने र पत्रकार पुडासैनीको विषयलाई लिएर कुनै पनि कार्यक्रम सञ्चालन तथा प्रसारण गर्नसमेत रोक लगाएको छ।

 

उनीहरू नेपालबाहिर जानुपरे कारणसहित अदालतमा पेस गर्नुपर्ने र अदालतलाई मनासिव लागे मात्रै उनीहरूलाई देश छोड्ने अनुमति दिने आदेशमा उल्लेख छ।आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका लामिछानेसहित तीनै जना १२ दिनपछि रिहा भएका हुन्।

 

उनीहरूलाई समर्थकहरूले जिल्ला अदालतबाहिर फूलमाला लगाएर स्वागत गरेका थिए। समर्थकहरूले सरकारविरुद्ध नारा लगाउनुका साथै लामिछानेलाई फसाउन सरकार उद्यत भएको आरोपसमेत लगाएका थिए।

आइतबार प्रहरीले प्राप्त प्रमाणसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा अभियुक्तहरूसँग अदालतले आइतबार र सोमबार दुई दिन बयान लिएको थियो।

 

सरकारी वकिलका तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले वकिलले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।