चिडियाखानामा भित्रिइन् ‘कान्छी’

0
Shares

टीका बन्धन, काठमाडौं। सदर चिडियाखानाले जोडी नभएका जन्तुलाई जोडी बाँध्ने प्रक्रिया अघि बढाएसँगै नीलगाई (घोडगधा) थपिएको छ। सोमबार रूपन्देहीबाट ११ महिना हाराहारीको पोथी ल्याइएको हो।

एसियाली मुलुकमा पाइने यो जन्तु ठूलो प्रजातिको मृग हो, यसलाई लिलीगाईका नामले समेत चिनिन्छ। जावलाखेलस्थित चिडियाखानामा यसअघि दुई भाले नीलगाई मात्रै थिए।

‘हामीकहाँ यसअघि तीन/तीन वर्ष हाराहारीका दुई भाले नीलगाई थिए, अब त पोथी पनि थपिएको छ।’ –चिडियाखानाका आयोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेलले नेपाल समाचारपत्रसँग भन्नुभयो।चिडियाखानाले यसअघिका भाले नीलगाईलाई ‘पवन’ र ‘पारस’ नाम दिएको छ भने सोमबार ल्याइएको पोथीलाई तत्कालका लागि ‘कान्छी’ नाम दिइएको उहाँले जानकारी दिनुभयो। कान्छीलाई आगामी दिनमा अर्कै नाम जुराउन सकिने पोखरेलले बताउनुभयो।

चिडियाखानाले विगतमा पनि नीलगाई प्रदर्शनीमा राखेको थियो। सो जन्तुले चिडियाखानामै बच्चा जन्माएको थियो। तर प्राकृतिक कारणले एकपछि अर्को नीलगाई मरेपछि करिब डेढ वर्षसम्म यो जन्तु चिडियाखानामा थिएन।

 

करिब डेढ वर्षको अन्तरालपछि गत चैतमा नवलपरासी र गत साउन १७ मा सिन्धुलीबाट दुईवटा भाले निलगाई ल्याइएको छ। तीनवटै नीलगाई प्राकृतिक बासस्थानबाट मानवबस्ती पसेपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो।

वन कार्यालयको नियन्त्रणमा रहेर मानवसँग घुलमिल भइसकेका नीलगाईलाई कृत्रिम बासस्थान (चिडियाखाना)मा राख्न सकिने ठहर भएपछि मात्रै चिडियाखाना ल्याइएको सो कार्यालयकी सूचना अधिकृत लिना चालिसेले जानकारी दिनुभयो।

सोेमबार थपिएको पोथी निलगाईसँगै चिडियाखानामा एक सय १७ प्रजातीका एक हजार ६९ वटा जिवजन्तु प्रदर्शनीमा रहेको उहाँले बताउनुभयो।प्रदर्शनीमा रहेका अधिकांश जिवजन्तुका जोडी भए पनि गैंडा, जलगैंडा, सिमा· (वन मान्छे), जरायो, घोरल, नाउर, हिमाली भालु पोथीविहीन छन् भने घडियालका भाले छैनन्।

 

लामो समय जोडीविहीन भएको पन्छी सारसले गत फागुन दोस्रो सातादेखि जोडी पाएको छ। फागुनअघि चिडियाखानामा भाले सारस मात्रै रहेकोमा कञ्चनपुरको शुक्लाफाँटाबाट ल्याएको सारस पोथी भएको चिडियाखानाका प्राविधिकको ठहर छ। अन्य जिवजन्तुलाई जोडी बाध्न ढिलो भइरहेको बारे सोधिएको प्रश्नमा डा. पोखरेलले भन्नुभयो– ‘यहाँ जिवजन्तु ल्याएर मात्रै हुँदैन, सबै जोडीसहितका हुनुपर्छ, संभव भएसम्म सबैलाई साथी र जोडीसहित राख्ने प्रयास भइरहेको छ।’ विदेशबाट ल्याइएका जिवजन्तुको जोडी थप्न भने कुटनीतिक स्तरबाट पहल हुनुपर्ने उहाँको भनाइ छ।