जनप्रतिनिधिकै ट्रयाक्टर समातिए

0
Shares

नवलपरासी । अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकास गर्ने ४ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुलिङटार गाउँपालिकामा पर्ने कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा निकाल्दै गरेका ४ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालुवा चोरी निकासी गर्दैगर्दा गाउँपालिका सदस्यदेखि नेपाली कांग्रेस बुलिङटार गाउँपालिका सभापतिको ट्रयाक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बुलिटङटार गाउँपालिका–३ का सदस्य विष्णुवीर जर्गामगर र नेपाली कांग्रसका बुलिङटार गाउँपालिका सभापति चन्द्रबहादुर मगरको ट्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

लु ३ त ६२३५, लु ३ त ९२०१, लु ३ त ६०२४ र लु ४ त २३१३ नम्बरका ट्याक्टरहरू अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दैगर्दा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिइएको लु ४ त २३१३ नम्बरको ट्याक्टर वडा सदस्य जर्घा मगर र लु ३ त ९२०१ र लु ३ त ६२३५ नम्बरको ट्रयाक्टर नेपाली कांग्रेसका गाउँपालिका सभापति मगरको रहेको प्रहरीले जनाएको छ ।

थप कारबाहीका लागि गाउँपालिकामा विवरण पठाइसकेको प्रहरीले बताएको छ । गाउँपालिकाले नदीजन्य पदार्थ चोरी निकासीमा प्रयोग हुने ट्याक्टरलाई १५ हजार र संलग्न चालकलाई १० हजार गरी २५ हजार जरिबाना गर्ने नियम छ ।