वर्षापछि मुगुको ठाउँठाउँमा पहिरो सडक अवरुद्ध हुँदा स्याउ बारीमै कुहिने डर

0
Shares

नेपाल समाचारपत्र, मुगु। साउन महिनाको तेस्रो सातादेखि लगातार परेको अविरल वर्षाका कारण जिल्लाको नाग्मा–गमगढी सडकखण्ड अवरुद्ध भएकाले जिल्ला बाहिर जाने र घर फर्किने सर्वसाधारण कर्मचारी, सर्वसाधारण नागरिक, बिरामी, कृषक तथा व्यापारी मर्कामा परेका छन्।
अघिल्ला वर्षहरूमा व्यापारी स्याउ नपाक्दै घरमा आएर बगैंचामा फलेको स्याउको बैना दिएर जान्थे तर योपटक सडक अवरुद्ध भएकाले कुनै व्यापारी आएका छैनन्।
जिल्लाको छाँयानाथ रारा नगरपालिका–४ को ताल्चा, वडा नं. ५ को मैतु र वडा नं. ३ को राधधारा, जुम्लीमुल, माथितुम, लामाचौरका किसानको बगैंचामा अघिल्ला वर्षभन्दा स्याउ राम्ररी फलेका छन््। उत्पादित फलफूलहरू बिक्री गर्न नपाउँदा किसान चिन्तित भएका छन्।
‘रुखबाट स्याउ झरेर बारीभरी छन्, अहिलेसम्म लिन कोही आएका छैनन्।’ छाँयानाथ रारा नगरपालिका–५ का किसान राजकुमार भामले भन्नुभयो।सडक अवरोधका कारण जिल्लामा दैनिक उपभोग्य सामानको समेत अभाव हुँदै गएको छ। किसानको बगैंचामा फलेका स्याउ स्थानीय तथा अन्य जिल्लाबाट आएका फलफूल व्यापारीले सुर्खेत नेपालगन्ज, दाङ, बुटवललगायत तराईका अन्य जिल्लामा लैजान अवरोध पुुगेको छ ।
जिल्लाका ९२ किमि गमगढी नाग्म सडकको पिना, भुलभुले, सिजा, नाग्मलगायतका सडकका ठाउँठाउँमा भारी वर्षाका कारण पहिरो जाँदा र सडक भासिदा सडक बनाउन मौसममा सुधार भएपछि हप्ता दिन लाग्ने सडक डिभिजन कार्यालय जुम्लाले बताएको छ।

जिल्लामा आवत–जावत गर्ने मुख्य राजमार्गका रुपमा रहेको मुगु गमगढीबाट जुम्ला नाग्मसम्मको सडक एक दर्जन बढी ठाउँमा पहिरो गएपछि मुगुका छायाँनाथ रारा नगरपालिका, सो र मुगुम कार्मारोग गाउँपालिकाका वस्तीहरू सडक यातायातबाट वञ्चित भएका छन् भने खत्याड गाउँपालिकाको गाठिज्यूला सडक खण्डमा पनि ठाउँठाउँमा पहिरो गएपछि अवरुद्ध आवागमन अवरुद्ध भएको छ।

त्यसै गरी सदरमुकाम गमगढीबाट दुर्गम बस्तीसम्म जाने तारापानी, लुन्स सडकमा समेत ठाउँठाउँमा सडकमा पहिरो भएपछि जिल्लाभर सडक यातायात केही हप्तादेखि ठप्प रहेको छ।