मिर्गौलापीडितले गरे सहयोगको याचना 

0
Shares

रौतहट, (नेस) जिल्लाको गढीमाई नगरपालिका–१ का मिर्गौला रोगपीडित मिश्रीलालप्रसाद साहले दुवै मिर्गाैलाको डाइलोसिस गर्ने रकम नभएको भन्दै सहयोगको याचना गरेका छन्।

गढीमाई नगरपालिका–१ समनपुरका मिश्रीलालप्रसाद साहको दुवै मिर्गौलाले काम गर्न छाडेको छ। जीवन जिउन उनले घरको सबै सम्पत्ति सक्दासमेत बाच्ने आश भने बोकेर हिँडेका छन्।

तीन वर्षदेखि साहको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारमा मात्रै सात कटठा जमिन सकिएको दुखेसो साहले गरेका छन्।उनी भन्छन्– ‘एउटा मात्र मिर्गौला पाएमा आफू बाच्ने थिएँ तर सबै धनसम्पत्ति उपचारमा सक्किएपछि यतिखेर सानो घरसहितको घडेरी मात्र रहेको छ।’

अब उपचार त के बिहान बेलुकाको छाक टार्नसमेत समस्या हुँदै गएको साहले बताए ।उनका दुई छोरा र एक छोरी छन्। कसैको रोजगार छैन सिङ्गो परिवार नै आफूप्रति आश्रित रहेको उनी  बताउँछन्।

तीस वर्षदेखि नेकपाको पार्टी सदस्यता लिएर राजनीतिमा लागेका साह समनपुर गाउँ कमिटी, ईलाका कमिटी र जिल्ला सदस्यसम्म भइसकेका छन् तर पनि आफू आबद्ध पार्टीले बेवास्ता गरेको देख्दा दुःख लागेको बताउँछन्।
‘राजनीतिमा लागेँ, जनमत बनाएँ तर आफूलाई हैन नेतालाई भएछ।’, उनले आफ्नो उपचारमा समेत पार्टीले सोध्न नआउँदा दुःख लागेको बताए।
सातामा दुई पटक घरबाटै वीरगन्जको नेसनल मेडिकलमा डाइलोसिस गर्दै आएका साहको एक सातामा दश हजार खर्च हुने गरेको छ। अहिलेसम्म ५० लाख रुपियाँ खर्च भइसकेको छ तर बाच्ने आश हुँदाहुँदै खर्च अभावमा जीवनमरणको दोसाँधमा पुगेको उनले बताए, ‘अब त डाइलोसिस गर्नसमेत खर्च छैन।’