पारिश्रमिक नपाएको भन्दै विद्यालयमा तालाबन्दी

0
Shares

सल्यान, (नेस)।  भवन निमार्ण गर्दाको पारिश्रमिक नपाएको भन्दै जिल्लाको दार्मा गाउँपालिका–१ दार्माकोटस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार मजदुरले तालाबन्दी गरेका छन्। विद्यालयमा तालाबन्दी हुँदा सयौं विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ।

विद्यालयको भवन निमार्ण गर्दा काम गरेको ज्याला दुई वर्ष बितिसक्दासमेत नपाएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गर्नुपरेको दार्मा–१ डाकिबाराका कामदार बलबहादुर रोकायले जानकारी दिनुभएको छ।

आफूले काम गरेको पारिश्रमिक दिन पटकपटक विद्यालय प्रशासनलाई आग्रह गर्दा पनि वास्ता नगरेपछि ताला लगाउनुपरेको उहाँको भनाइ छ।

विद्यालयको भवन निमार्ण गर्दा विनियोजित बजेटभन्दा केही बढी रकम खर्च हुँदा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष कविकुमार चन्दले बताउनुभयो।

स्थानीयबाट हुनुपर्ने श्रमदान नभएका कारण भवन निमार्ण गर्दा विद्यालयलाई घाटा लागेका कारण मजदुरलाई पारिश्रमिक दिन ढिला भएको उहाँको भनाइ छ।

आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट उक्त विद्यालयको भवन निमार्णका लागि ३२ लाख रकम विनियोजित भएको थियो।

विद्यालयमा लगाएको तालाबन्दीका विषयमा सम्बन्धित निकायसँग छलफलको प्रयास भइरहेको विद्यालयका प्रधानाध्यापक हेमन्त ओलीले बताउनुभयो।