बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

0
Shares

बर्दिया, (नेस) । जिल्लाको सुदूरपश्चिमको गेरुवा गाउँपालिका–४ को दंगपुर निवासी रामकली शाहीको बाघको आक्रमणबाट मृत्यु भएको छ।

शाहीको घटनास्थलमै मृत्यु भएको र मृतकको शवलाई परीक्षणका लागि प्राथमिक उपचार केन्द्र राजापुरमा पठाइएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी गराउनुभयो।

घरदेखि नजिकै रहेको खेतमा घाँस काट्दै गर्दा एक्कासि बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ४/५ जनाको समूहमा खेतमा घाँस काटिरहेको समयमा शाहीलाई एक्कासि पाटेबाघले आक्रमण गरेको थियो।

उनलाई बाघले समातेर खेतसँगै जोडिएको वनको तिन सय मिटरभित्र लगेको थियो।

शाहीका साथीहरूले गाउँमा खबर गरेपछि स्थानीयवासीले बाघबाट छुट्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बास्तोलाले बताउनुभयो।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रवरिपरिका वनमा बाघ तथा अन्य वन्यजन्तुको संख्या बढेसँगै निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको र धनजनको क्षति हुने गरेको पाइएको छ।