सुरक्षित छ राष्ट्रिय परिचयपत्र

0
Shares

 चिरञ्जीवी मास्के, दोलखा  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सरकारले वितरण शुरु गरेको राष्ट्रिय परिचयपत्र प्राविधिक रूपमा निक्कै परिपक्व भएकाले व्यक्तिको गोपनीयतामा कुनै समस्या नहुने बताउनुभएको छ।

बिहीबार दोलखा सदरमुकाम चरिकोटमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राष्ट्रिय परिचयपत्रको महत्व, प्रभाव र आवश्यकताको विषयमा जानकारी गराउनुभएको थियो।

सरकारले सबै जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न निर्देशन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले त्यसको तयारी शुरु गरेको छ। ताप्लेजुङबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अभियान अहिले १६ जिल्लामा चलिरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

सरकारको निर्णयअनुसार आर्थिक वर्ष ०७६÷०७७ बाट सबै जिल्लामा परिचयपत्र वितरण गरिने भएकाले त्यसको पूर्वतयारीका लागि छलफल, अभिमुखीकरणलगायतका कार्यक्रम भइरहेको विभागका निर्देशक न्यौपानेले बताउनुभयो।

राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति हुने र त्यसैको निर्णयको आधारमा कहाँबाट र कुन प्रकृयामा वितरण कार्य अघि बढाउने भन्ने कार्ययोजना बन्ने विभागले जनाएको छ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले सरकारले वितरण शुरु गरेको राष्ट्रिय परिचयपत्र प्राविधिक रूपमा निक्कै परिपक्व भएकाले व्यक्तिको गोपनीयतामा कुनै समस्या नहुने बताउनुभएको छ।

बिहीबार सम्पन्न राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सरकारले दिने सेवा सुविधा सरल र सहज ढङ्गले प्राप्त गर्ने तथा अन्य कामका लागि समेत राष्ट्रिय परिचयपत्र आवश्यक हुने भएकाले स्थानीय पालिका र अन्य निकायले समेत राष्ट्रिय परिचयपत्र वितरण अभियानलाई सहयोग गर्नुपर्ने बताउनुभयो।

त्यसै गरी समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबैले सहज ढङ्गले राष्ट्रिय परिचयपत्र लिने वातावरण बनाउन प्रयत्न गरिने बताउनुभयो।
कार्यक्रममा सहभागीका रुपमा दोलखा तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलगायतले राष्ट्रिय परिचयपत्रका विविध विषयमा जिज्ञासा राख्नुभएको थियो। दोलखाको दुई नगरपालिका र सात गाउँपालिकामा दशै तिहारलगत्तै परिचयपत्र वितरण अभियान शुरु गरिने विभागले जनाएको छ।