पत्रकार आन्दोलनमा

0
Shares

नेपाल समाचारपत्र, डोटी ।नेपाल सरकारको आधिकारिक सञ्चार माध्यम रेडियो नेपालमा वर्षौदेखी काम गर्दै आएका तिनजना पत्रकारलाई सरकारले बिनाकारण जानकारी नै नदिई जागिरबाट हटाएको भन्दै नेपाल पत्रकार महासंघ डोटी शाखामा आबद्ध पत्रकार आन्दोलित भएका छन्।
रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रशारण केन्द्र दिपायलमा विगत १० वर्षदेखि उद्घोषकका रूपमा काम गर्दै आउनु भएकी सुनिता रावल, विगत ३ वर्षदेखि डोटेली भाषाको समाचार पढ्दै आउनु भएका समाचार वाचक प्रकाश बम तथा उद्घोषक चक्र कुँवरलाई गएको श्रावण ३२ को निर्णय अनुसार सेवाबाट हटाइएको भन्दै पत्रकार आन्दोलित भएका हुन्।
यसै सिलसिलामा डोटी पत्रकार महासंघले बिहीबारदेखि शनिबारसम्म रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलको मूल गेटमै हातमा कालो पट्टी बाँधेर विरोध जनाउने कार्यक्रम तय भएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बिनाकारण हटाइएका पत्रकारलाई तत्काल काममा फर्काउनका लागि हामीले दवाबमूलक कार्यक्रम आयोजना गरेका छौं, बिनाकसुर कसैको जागिर खान पाइँदैन।’
त्यस्तै बिनाकारण ३ जना पत्रकारलाई सेवाबाट हटाएको भन्दै नेपाल प्रेस युनियन डोटी शाखाले पनि बरखास्त गरिएका पत्रकारको पुनर्बाहालीको माग गर्दै विज्ञप्ति प्रकासित गरेको छ। डोटीमा ३ जना पत्रकारलाई रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रबाट बरखास्त गरी लोकेश अधिकारी,नवराज जोशी तथा दीर्घ खत्रीलाई नियुक्ती दिएको छ।