नलगाड र भेरी नगरपालिकामा हावाहुरीले मकैबाली नष्ट 

0
Shares

नेपाल समाचारपत्र, जाजरकोट।  केही दिनअघि वर्षासँगै आएको हावाहुरीले भेरी नगरपालिका–१ मा किसानले लगाएको मकैलगायत अन्नबाली नष्ट गरेको छ।
मुख्य अन्नवालीको रूपमा रहेको मकैबाली हावाहुरीले नष्ट गरेपछि वर्षभरि कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको स्थानीय दलबहादुर रावलले दुखेसो गर्नुभयो।
भेरी नगरपालिका–१ कालेगाउँ, रावतगाउँ, कोल्चौर, रिठापनी, पिपे, मैदे, डौरीकाडा गाउँमा करिब ५ सय रोपनी जग्गामा किसानले लगाएको मकबाली हावाहुरीले नष्ट गरेको दलबहादुर खत्रीले बताउनुभयो।
यसैगरी नलगाड नगरपालिका–६ को गराग्ली, राता, फर्सा, पिउली, बडावन, भारगाउँ, गर्छिनलगायतका स्थानमा कृषकले लगाएको मकैलगायत अन्नबाली पानीसँगै आएको हावाहुरीले नष्ट गरेको हो।
चवरासहित मकै पाक्ने समय आएको बेला यस्तो भएपछि किसान मर्कामा परेका छन्। जाजरकोटका भेरी नगरपालिका, नलगाड नगरपालिका विभिन्न स्थानमा करिब ५ सय हेक्टर जमिनमा लगाएको मकैबाली पानीसँगै आएको हावाहुरीले नष्ट गरेपछि किसान मर्कामा परेका छन्। हावाहुरीले मकैलगायत अन्नबाली नष्ट गरेपछि नजिकिँदै गरेको दशै तिहारमा अन्नको अभाव हुने सम्भावना बढकोे खत्रीले बताउनु भयो।
पानीसँगै आएको हावाहुरीका कारण किसानले लगाएको मकैलगायत अन्नबाली नष्ट गरेपछि किसान चिन्तामा परेको भेरी नगरपालिका–१ का वडा अध्यक्ष दीपक रानाले बताउनुभयो। ‘नष्ट भएको वस्तु फर्किएर आउने छैन। अब सरकारले गतिलो राहतको व्यवस्था नगरे किसान खाद्य संकटको मारमा पर्नेछन्’, –रानाले बताउनुभयो।
नलगाड नगरपालिका कृषि शाखा प्रमुख महेश कुमार विष्ट तथा भेरी नगरपालिकाका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले किसानले लगाएको मकैलगायत अन्नबाली हावाहुरीले नष्ट गरेको विवरण तयार भएको बताउनुभयो।