सामाजिक सुरक्षाभत्ता बुझ्न कठिन

0
Shares

 विनोदसिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाका साबिकका विभिन्न वडाका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बझ्न निकैकठिन भएको बताएका छन्। सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता बुझ्न आफूलाई कठिन भएको उनीहरूको भनाइ छ।
दशरथचन्द नगरपालिकाका साबिक वडाका जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता कृषि विकास बैंकमार्फत वितरण हुँदै आएको छ। बैंकमा पुग्न र लाइनमा उभिएर सामाजिक सुरक्षा भत्ता बुझ्न निकै अप्ठ्यारो भएको दशरथचन्द नगरपालिका–६ सिम्तडीका वृद्धा लछीमा भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, ‘चुनावका बेला घरघरमै पुगेर भत्ता दिन्छु भन्नेले आफूहरूको पीडा बुझ्न सकेनन्’।
सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक पुग्न समस्या हुने र त्यसपछि लाइनमा उभिन निकै सकस हुनेगरेको सिम्तडीकै अर्की वृद्धा राधिका भट्टले बताउनुभयो। ‘जनप्रतिनिधिले आफूहरूको दुःख बुझेनन्’, उहाँले भन्नुभयो– ‘घण्टौं लाइन बसेर भोकभोकै सामाजिक सुरक्षा भत्ता बुझ्नुपरेको छ’।
यो विषयमा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्नुपर्ने सरकारले नियम बनाएकोले बैंकमार्फत भत्ता दिन शुरू गरिएको दाबी गर्नुभयो। जेष्ठ नागरिकलाई सजिलोका लागि अर्को चौमासिकमा केही वैकल्पिक उपाय गरिने उहाँले बताउनुभयो ।
यो विषयमा कृषि विकास बैंक शाखा कार्यालय शाहीलेकका प्रमुख डिकरदेव पाण्डेयले सुरक्षाका कारण गाउँमा गएर भत्ता वितरण गर्न नसकिएको बताउनुभयो। यसका साथै कर्मचारीको अभाव, चार बजेभित्र सिस्टममा राखिसक्नुपर्ने र अनलाइनबाट कारोबार गर्नुपर्ने भएकाले गाउँमा गएर भत्ता वितरण गर्न सकिने अवस्था नरहेको कृषि विकास बैंकले जनाएको छ।
गाउँमा सिंहदरबार आएको भनिए पनि नागरिकका समस्या समाधान नभएको स्थानीय महेश भट्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘स्थानीय स्तरमै हल गर्न सकिने समस्यातर्फ पनि स्थानीय सरकारको ध्यानजान सकेको छैन।’
सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरिने 
यसैबीच दशरथचन्द नगरपालिकाले चालू आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने भएको छ। साविकका वडाका सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकले कृषि विकास बैंकमार्फत भत्ता बुझ्दै आएका छन्।
कृषि विकास बैंकमार्फत भत्ता बुझ्न जेष्ठ नागरिकलाई अप्ठ्यारो परेको बारे गुनासो आएको थियो । भत्ता बुझ्ने जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै वडाबाटै भत्ता वितरण गर्ने निर्णय भएको नगरप्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिनुभयो।

चालू आर्थिक वर्षको प्रत्येक चौमासिकमा वितरण हुने सामाजिक सुरक्षा भत्ता अब
वडाबाटै वितरण गरिने उहाँले जानकारी दिनुभयो। वडाबाट भत्ता वितरण गर्ने नगरपालिकाको निर्णयको स्थानीयले स्वागत गरेका छन्।
भत्ता बुझ्नका लागि जेष्ठ नागरिकलाई समस्या हुने गरेकोमा उनीहरूको समस्या समाधानका लागि नगरपालिकाले चालेको पहल स्वागतयोग्य भएको स्थानीय महेश भट्टले बताउनुभयो।