गेर्खु खोलाको पुल बगाउँदा यातायात अवरुद्ध

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट। बुधबार रातिको वर्षाको कारण खोलामा आएको बाढीले पासाङल्हामु राजमार्गअन्र्तगत त्रिशूली–बेत्रावती सडक खण्डको गेर्खु खोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ।
विदुर नगरपालिका–१ र १० को सीमामा रहेको गेर्खु खोलाले गत सालको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाईभर्सन बगाएको हो। डाईभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नपा–१० का वडाअध्यक्ष गणेशकुमार नेपालले नेपाल समाचारपत्रलाई बताउनुभयो।
गतवर्ष पुल भत्काएपछि नयाँ बनाउन पटक–पटक ताकेता गरेपनि निर्माण नगरिएका कारण अहिले पनि दुःख पाइयो’, वडाअध्यक्ष नेपालले भन्नुभयो।
गल्छी त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिलेको समस्या आएको हो। एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा नभएको हो।

डाईभर्सन खोलाले बगाएपछि अवरुद्ध यातायात सञ्चालनका लागि अर्को डाईभर्सन बनाएर यातायात सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो। ‘काम शुरू भइसकेको छ। साँझसम्ममा यातायात सञ्चालन हुन्छ’ पोखरेलले भन्नुभयो। डाईभर्सन बगाएका कारण नुवाकोटको रसुवाको यातायात ठप्प भएको छ।

रसुवाबाट काठमाडौं आउने जाने सवारीसाधान यहाँ रोकिएका छन्। रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली तुप्चे मनकामना पहिरेबेसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ।