ओढेको सिरकसहित भेटियो शव

0
Shares

पर्वत, (नेस) ।जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा बेपत्ता भएका भनिएका रेमबहादुर चालिसे ओढेको सिरकभित्रै मृत अवस्थामा भेटिएका छन्। बुधबार राति परेको पानीको कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता भएका थिए।

पहिरोले घर पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजतलास गर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइदै छ।

वर्षा भइरहेका बेला घरभन्दामाथि रहेको कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ। पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ।
बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घरबाहिर गएकाले सुरक्षित ुभएको बताइएको छ। उहाँ सम्पर्कमा आउनुभएको छ। मृतक चालिसेका २ छोरा र ४ छोरी रहेका छन्। छोरीको बिहेवारी भइसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दैआएका छन्।