अधिकांश विश्वविद्यालयमा उपकुलपति खाली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको म्याद भदौ २० गतेसम्मका लागि थपिएको बताउनु भएको छ।

प्रम ओली उपचारका क्रममा सिंगापुर जानुअघि हिजो सर्च कमिटीका संयोजक एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई म्याद थपको पत्र पठाउनुभएको हो। त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँको कार्यकाल आज शुक्रबारदेखि सकिँदैछ।

कुलपति ओलीले हिजै त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलाई कामु उपकुलपतिको जिम्मेवारी दिनुभएको हो। यस्तै कृषि तथा वन, पूर्वाञ्चल, संस्कृत र विश्वविद्यालयका उपकुलपति छनोट गर्न मन्त्री पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गरिएको छ।

कृषि तथा वन विश्वविद्यालयको सर्च कमिटीको सदस्यमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव महेश दाहाल सदस्य रहनुभएको छ। पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयको सर्च कमिटीको सदस्यमा योजना आयोगकी सदस्य उषा झा र शिक्षासचिव महेश दहाल सदस्य रहेको सर्च कमिटी गठन भएको छ।

त्यस्तै पूर्वाञ्चलको कार्यबाहाक उपकुलपतिमा डीन विजयकुमार थपलिया, संस्कृतमा रेक्टर रमेश ढकाल र कृषिमा डीन शारदा थपलियालाई उपकुलपति बनाउने निर्णय भएको छ। त्रिविका उपकुलपति प्राडा खनियाँसँगै कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरी ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा घनश्यामलाल दास र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरलाको कार्यकाल सकिएपछि कार्यबाहाक दिइएको हो।

यसै गरी प्रधानमन्त्रीले पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयको सेवा आयोग अध्यक्ष सिफारिस गर्न पनि मन्त्री कै संयोजकत्वमा सर्च कमिटी गठन गर्नुभएको छ।