अस्पतालमा हस्तक्षेप नगर्न नेमकिपालाई कांग्रेसको चेतावनी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर। नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभकुमार थापाले भक्तपुर नगरपालिकाका नगर प्रमुख शुनिल प्रजापतीले अधिकार क्षेत्र नाघेर भक्तपुर क्यान्सर अस्पतालमा हस्तक्षेप गरेको बताउनुभएको छ। भक्तपुर नगरपालिकाले अस्पतालमा हस्तक्षेप गरेको विरोधमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले हस्तक्षेप फिर्ता लिन चेतावनी दिनुभयो।

नगर प्रमुख प्रजापतीले हस्तक्षेप फिर्ता नगरे आफू पनि नगर प्रमुखको कुर्सीमा बस्न सक्ने चेतावनी दिँदै सभापतिले थापाले स्वायक्त संस्थाले चलाएको अस्पताल स्वतन्त्र ढंगले चल्नपर्ने बताउनुभयो।

नगरपालिकाले सञ्चालन गरेका ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेजलगायतमा पनि अनियमितता रहेको उल्लेख गर्दै थापाले आफ्नै पार्टी समर्थक पत्रिकामा समाचार डिजाइनअनुसार अस्पताल कब्जा गर्न खोजेको आरोप लगाउनुभयो।

वार्षीक ६०÷७० हजार क्यान्सर रोगीले स्वास्थ्य सेवा लिँदै गरेको अस्पतालमा नगरपालिकाले राजनीति छिराएको बताउँदै सभापति थापाले यसबाट भक्तपुरबासी मात्र नभएर नेपालभरीका नागरिक प्रभावित हुने बताउनु भयो।

कसैले भ्रष्टाचार गरेको छ भने त्यसको छानबिन सम्बन्धित निकायले गर्नुपर्नेमा जोड दिँदै सभापति थापाले अरूको आङको जुम्रा देख्नेले आफ्नो आङको भैंसी देखेर सोही अनुसार मूल्यांकन गर्न आग्रह गर्नुभयो।

अध्यक्ष थापाले अस्पताल व्यवस्थापन समितिले कुनै गल्ती गरको भए राज्यका जिम्मेवार निकायले छानबिन गर्नुपर्ने तर नेपाल मजदुर किसान पार्टीले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभयो।

नेपाल अर्वुद रोग निवारण संस्थाले विभिन्न देशी विदेशी गैर सरकारी संस्थाहरूको सहयोगमा दुई दशकअघिदेखि सञ्चालन गरेको क्यान्सर अस्पताल आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नभई क्यान्सर जस्तो प्राणघातक रोगको उपचार गर्ने स्वायत्त अस्पतालका रूपमा सञ्चालन भएको उहाँले बताउनुभयो।

नगरपालिकाको अधिकार क्षेत्रबाहिर गएर गरिएको कामको भत्र्सना गर्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा नगरपालिकाले गठन गरेको अवैधानिक समिति भंग गरेर अस्पताललाई स्वायत्त ढंगले चल्ने वातावरण बनाउनसमेत आग्रह गरिएको छ।