कारागारबाट छुटेपछि पनि पुरानै धन्दा

0
Shares

पटाका पड्काएर जन समुदायमा त्रास फैलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । वीरगञ्ज–२४, रामगढवा बस्ने ३२ वर्षीय इनुस अन्सारी, २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षीय टाइगर भन्ने जौवाद अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट ४ राउण्ड गोली, सुतली बम जस्तो देखिने ३ थान र मोबाइल फोन २ थान बरामद थियो ।

वीरगञ्ज–४ स्थित बिर्ता, हाट बजारमा साउन २४ गते पटाका बम पड्केर २ जना घाइते भएका थिए । त्यसको ४ दिनपछि वीरगञ्ज महानगरपालिका–८ घण्टाघर नजिकको तरकारी बजारमा पनि विष्फोट भयो । १ जना घाइते भए । लगातार विष्फोटका घटना घटेपछि वीरगञ्जको जनजीवन आतंकित भयो । घटना लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले एक सातापछि सफलता हात पारेको हो ।

प्रहरीका अनुसार, फुल हसन अन्सारी जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा सजाय काटी ०७४ असोज ९ गते कारागारबाट छुटेका थिए ।

जेलबाट छुटेलगत्तै अपराधकर्मलाई नै पेसा बनाएका उनले वीरगञ्ज कारागारका चौकीदार शेख भोलालाई नै निशाना बनाए । प्रहरीका अनुसार, शेखसँग उनले १० लाख रकम मागेका थिए । नदिएमा सरुवा गराइदिने धम्की उनले दिएका थिए ।

पछिल्ल्ला विभिन्न विस्फोटमा संलग्न उनले प्रमुख जिल्ला अधिकारीसमेतलाई एसएमएस गरेको अनुसन्धानबाट खुल्न आएको छ । फुल हसनले नै पटाका पड्काउन इनुस, सद्दाम र टाइगर भन्ने जौवादलाई प्रयोग हुन ।

उनीहरू तीनै जनालाई हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । थप अनुसन्धानका लागि समय आवश्यक भएकाले प्रहरीले पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएको छ ।