प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

0
Shares

काठमाडौं, (नेस)। स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सिंगापुर प्रस्थान गर्नुभएको छ। उहाँ थाई एयरबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो।

उहाँका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंह शाह र स्वकीय सचिव राजेश व्रजाचार्यलगायत सहभागी हुनुहुन्छ।

अघिल्लोपटक गत साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले जारी गर्नुभएको विज्ञप्तिमा अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा ओलीको शरीरमा मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएको उल्लेख छ।

डा. सिंहका अनुसार एन्टीबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो।  सिंगापुरमा रहँदा उक्त अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँको विज्ञ टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गरिनेछ।
डा. सिंहले सिंगापुरमा प्रधानमन्त्रीको स्वास्थ्यबारे उल्लेखनीय जानकारी भएमा सञ्चारमाध्यमलाई बताउने जनाउनुभएको छ।

पोखरेल कार्यवाहक प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्नुहुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोक्नुभएको हो।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।