विद्यार्थीले लगाउँछन् शिक्षकको हाजिरी

0
Shares

नेपाल समाचारपत्र, सल्यान। सल्यानको दार्मा गाउँपालिका–१ स्यालास्थित बालकल्याण प्राथमिक विद्यालयमा शिक्षकको हाजिरी विद्यार्थीले लगाउने गर्दछन्। प्रायः विद्यालयमा शिक्षकले विद्यार्थीको हाजिरी लगाइरहेको अवस्थामा उक्त विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी लगाउँदै आइरहेका छन्।

कुन शिक्षक कति बजे कक्षामा प्रवेश गरे, कति मिनेट पढाए, कक्षा घण्टी सकिएको कति मिनेटपछि कक्षा छोडेलगायतका विषयमा विद्यार्थीले शिक्षकको हाजिरी लगाउने गर्दछन्। शिक्षकको अधिनमा विद्यार्थी रहनुपर्ने वाध्यातात्मक अवस्थालाई अन्त्य गरी शैक्षिक वातावरण सृजना गर्न यस प्रकारको कार्य गरिएको विद्यालयका प्रधानाध्यापक कुमार देवकोटाले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘विद्यालयको वातावरण शैक्षिकमैत्री बनाउने हो भने विद्यार्थीलाई शिक्षकले र शिक्षकलाई विद्यार्थीले चेक एन्ड व्यालेन्स गर्न जरुरी छ।’ यस प्रकारको विद्यालयमा कार्यक्रम गर्न थालेपछि विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि आएको उहाँको दावी छ।

शैक्षिक गुणस्तर बढेकै कारण चालू शैक्षिक वर्षमा मात्रै निजी विद्यालय छोडेर २५ जना विद्यार्थी विद्यालयमा भर्ना भएको देवकोटाले बताउनुभयो। विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनुमा अभिभावक, विद्यालय व्यवस्थापन समितिको पनि अहम भूमिका रहेको उहाँले बताउनुभयो। अहिले विद्यालयमा १ सय ८३ विद्यार्थी रहेको उहाँको भनाइ छ।

विद्यालयले अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको पनि हाजिरी गराउने गरेको छ। जसले अभिभावक विद्यालय, आफ्ना छोराछोरी प्रति कति उत्तरदायी छन् भन्ने कुराको पुष्टि हुने बताउनुभयो।

वर्षभरि विद्यालयको नियमित अनुगमन गर्ने अभिभावकलाई वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गर्ने दिन पुरस्कृत गर्ने गरेको समेत देवकोटाले बताउनुभयो।