राराको सौन्दर्य बढाउन निकुञ्ज र सेना सक्रिय

0
Shares

नेपाल समाचारपत्र, (मुगु)। मुगुस्थित देशकै प्रशिद्ध राराताल र वरिपरिको जैविक विविधताको संवद्र्धन र संरक्षणका लागि स्थापित रारा राष्ट्रिय निकुञ्ज र त्यसैको सुरक्षाका लागि तैनाथ नेपाली सेनाको श्रीदल गुल्मले नियमित सरसफाइ तथा भौतिक सुविधा थप गरेपछि राराताल र वरिपरिको सौन्दर्य र रमणीयता बढेको छ।

तालक्षेत्र वरिपरि पन्ध्र–पन्ध्र दिनमा नेपाली सेनाले सरसफाइ गर्दै आएको श्रीदल गुल्म राराका गुल्मपती सेनानी रवि केसीले बताउनुभयो। ताल सरसफाइ नियमित गर्नाले ताल आसपासमा यो वर्ष फूलहरू अझै राम्रो फुलेको उहाँको भनाइ छ।

ताल सरसफाइअन्तर्गत यो वर्ष रारामा श्रीदल गुल्मले दुईवटा चारकोठे सार्वजनिक शौचालय र रारा राष्ट्रिय निकुञ्जले ३ वटा शौचालयको निर्माण गरेको छ। पर्यटकलाई लक्षित गरी पर्यटन सूचना केन्द्रको समेत स्थापना गरिएको छ।

रारा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारी रारा पुग्ने जो कोही यतिबेलाको तालको सुन्दरतामा लठ्ठ नपरेको र मनैदेखि ‘आहा ⁄’ नभन्ने कोही नभएको बताउनुहुन्छ।

राराको सुन्दरतालाई नियाल्न सहज होस् भनेर ताल क्षेत्रका विभिन्न स्थानमा ३ वटा भ्यूटावर समेत निर्माण गरिएको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताउनुभएको छ। वैशाखदेखि शुरु भई भदौको दोस्रो सातासम्म ५० भन्दा बढी प्रजातिका फूलहरू फुल्दै रारालाई सिंगार्ने गर्दछन्।