उत्तरगंगामा एक मेगावाट विद्युत् थप हुँदै

0
Shares

रुकुम, (नेस)।एसियाली विकास बैंक र पुथा उत्तरगंगा गाउँपालिकाको संयुक्त लगानीमा जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–११ सेरामा एक मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ।

गाउँपालिकाको पाँच करोड तथा एसियाली विकास बैंकको २८ करोडको लगानीमा उक्त आयोजना सम्पन्न गरिने गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाही मल्लले जानकारी दिनुभएको छ।

जिल्लामा अन्य साना क्षमताका विद्युत् आयोजनाहरू धेरै भए पनि रुकुम गाडखोलामा निर्माण हुन थालेको पाँच मेगावाट पछिको यो आयोजना दोस्रो ठूलो क्षमताको रहनेछ। आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी भैसकेको र तत्कालै टेन्डर आह्वान गर्ने तयारीमा रहेको गाउँपालिकाका उपाध्यक्ष मल्लले बताउनुभयो।

निर्माणको काम थालिएको १८ महिनामा काम सक्नेगरी प्रस्ताव तयार गरिएको छ। सो आयोजनाबाट एक मेगावाट क्षमताको विद्युत् उत्पादन भएमा जिल्लावासीलाई पुगेर पनि बाहिर निर्यात गर्न सकिने बताउँदै उपाध्यक्ष मल्लले भन्नुभयो, ‘अहिले पनि गाउँपालिकाको वडा नम्बर ९ बाहेक सबै वडामा विद्युत् पुगेकै छ, त्यहाँ पनि स्थानीय स्तरमै लघु जलविद्युत् निर्माणको काम भइरहेको छ।’