सीमामा बन्ने भयो प्रहरीको भवन

0
Shares

नेपाल समाचारपत्र, सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चीनसँगको सीमा क्षेत्र भोटेकोसी गाउँपालिकास्थित चौकीडाँडामा सीमा प्रहरी चौकीको भवनको शिलान्यास गर्नुभएको छ।

 

तातोपानी नाका सुचारु भएसँगै शिलान्यासपश्चात प्रदेश सरकारको बजेटमा सीमा प्रहरी चौकी कोदारीको कार्यालय भवन बन्ने भएको छ। जिल्ला प्रहरी प्रमुख मरासिनीले पूजापाठसहित जगमा ईंटा राखेर प्रहरी चौकी भवनको शिलान्यास गर्नुभएको हो। प्रदेश सरकारको करिब ३ करोडको लगानीमा सीमा प्रहरी चौकीको नयाँ भवन निर्माण हुन लागेको उपरीक्षक मरासिनीले जानकारी दिनुभयो।

‘सीमामा प्रहरी चौकीको आफ्नै भवन थिएन, नाका सुचारु भएसँगै प्रहरीको आफ्नै भवन पनि अब ठडिनेभयो’, मरासिनीले भन्नुभयो– ‘नाका खुलिसकेको अवस्थामा अब सीमाक्षेत्रमा सुरक्षा संरचना भौतिक हिसाबले पनि मजबुत हुँदै छ।’

भोटेकोसी गाउँपालिकास्थित कोदारीको चौकीडाँडामा प्रहरीको ३८ रोपनी जग्गामा उक्त भवनको निर्माण हुने भएको छ। तर विगत तीन दशकदेखि प्रहरीका नाममा रहेको उक्त जग्गा स्थानीयले भोगचलन गर्दै आएका थिए। ‘जग्गा विवादका कारण दुई पटक बजेट फ्रिज भएर गएछ, धेरै प्रयत्नपछि यसपटक भवन निर्माणको काम शुरु गर्न सक्यौं’, सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक हीरा महराले भन्नुभयो।

स्थानीय सरकारका प्रतिनिधि र जिल्ला प्रहरी प्रमुख मरासिनीको पहलकदमीमा प्रहरीको जग्गामा घर संरचना बनाइ बसेकाहरूले घरसंरचना हटाउन राजी भएका थिए।
भवनको शिलान्यास भएसँगै केही दिनभित्रै निर्माणको काम थाल्ने भवन निर्माणको जिम्मा पाएको टक्सास शान्तिदेवी जेभीका प्रोपाइटर प्रभातमान श्रेष्ठले जानकारी दिनुभयो।