सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर जिम्मेवार बन्नुपर्ने

0
Shares

नेपाल समाचारपत्र, बुटवल। सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर जिम्मेवार बन्नुपर्नेमा बुटवलमा सम्पन्न एक कार्यक्रममा बोल्ने वक्ताहरूले जोड दिएका छन्।

बुधबार बुटवलमा शुरु भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश– ५ को प्रथम अधिवेशनका वक्ताहरूले सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएको हो।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठले यातायात मजदुरहरू दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना मजदुरहरूमा पनि पूर्ण रूपमा कार्यान्वयन हुने बताउनुभयो। अध्यक्ष श्रेष्ठले सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो।

श्रमजीवी वर्गको हितका लागि सरकारले गर्ने हरेक कामको महासंघले समर्थन गर्ने उहाँले बताउनुभयो। श्रमजीवीवर्गको पक्षमा काम गर्न सरकारलाई घच््घच्याइरहने र सबैलाई सामाजिक सुरक्षा प्रणालीमा ल्याउन कानूनको संशोधन गर्न, सार्वजनिक खरिद ऐनमार्फत श्रम शोषण गर्ने अवस्थाको अन्त्य गरिनुपर्ने समेत श्रेष्ठले बताउनुभयो।

जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतमले सामाजिक सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वन हुने बताउनुभयो। सामाजिक सुरक्षा योजना कार्यान्वन हुन नदिन केही शक्तिहरू लागे पनि त्यो सफल नहुने उहाँले बताउनभयो।

संगठनका अध्यक्ष कृष्णप्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटनाको निष्पक्ष अध्ययन र अनुसन्धान गर्न आवश्यक भएको बताउनुभयो।

उहाँले ट्राफिक नियम उल्लंघन गर्नेलाई गरिने जरिवानाको रकम अवैज्ञानिक रहेको जिकिर गर्नुभयो। उहाँले दुर्घटना महामारीको रुपमा देखिएको भन्दै त्यसको न्यूनीकरणका लागि तीव्र गतिमा गाडी नचलाउन चालकलाई आग्रहसमेत गर्नुभयो।