नेपाल समाचारपत्र, पर्वत। म्याग्दी र मुस्ताङलाई राजमार्गसँग जोडने मालढुंगा–बेनी सडक बिहीबारदेखि दैनिक ८ घण्टा बन्द हुनेभएको छ। पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारीदेखि बाग्लुङ नगरपालिकाको बांगेचौर जोड्ने झोलुंगे पुल निर्माणका क्रममा दैनिक साढे ८ घण्टा सडक बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सर्वपक्षीय बैठकले कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको पर्वत खण्डमा लठ्ठो तान्नका लागि सहायक जग (एंकर ब्लक) निर्माण गर्नुपर्ने हुँदा मालढुंगा–बेनी खण्डको सडक बन्द गर्ने निर्णय गरिएको छ।
कार्यालयका अनुसार भदौ ५ गते बिहीबारदेखि १३ गतेसम्म बिहान ७ देखि ९ बजे र त्यसपछि बिहान १० देखि अपराह्न साढे ४ बजेसम्म पर्वतको कुस्मा नगरपालिका १ मालढुंगादेखि जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक बन्द हुनेछ।
‘निर्माण व्यावसायीले सडकमा संभावित जोखिम न्यूनीकरण गर्न बन्द गर्नुपर्ने माग गरेपछि सर्वपक्षीय बैठकबाट सडक बन्द गर्ने निर्णय भएको हो’ –प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भन्नुभयो– ‘काम नसकिएको अवस्थामा तीजलगायतका पर्वपछि पिच सडक बन्दहुनेछ।’
दैनिक ८ घण्टा सडक बन्द हुने भएपछि पर्वतको मालढुंगा, जलजला हुँदै बेनी म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारी साधनलाई बाग्लुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना र हल्का सवारी साधनहरू पर्वतको सहस्रधाराबाट पाङ हुँदै दमुवा खोलासम्मको वैकल्पिक सडकसमेत प्रयोग गर्न सकिने छ।
यो सडकको धेरै भाग कच्ची भएका कारण ठूला सवारी साधन चल्न सक्दैनन। छलफलमा सहभागी यातयात व्यवसायीले दिउँसोको समयमा एक घण्टा सडक खोल्नुपर्ने र मध्य पहाडी लोकमार्गको पर्वत खण्डमा स्तर उन्नतिका क्रममा बनेका ठूला ठूला खाडल पुरेर सडकमा सहज आवगमन हुने व्यवस्था मिलाउनसमेत आग्रह गरेका थिए।
यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय बाग्लुङ, पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, उद्योग वाणिज्य सघं, पत्रकार महासंघका अध्यक्षलगायतको उपस्थितिमा बसेको बैठकले पनि सडक बन्द गर्ने निर्णय गरेको थियो।
हिमशिखर कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएको पुलको अहिले फाउन्डेसनको काम भइरहेको छ। यो झोलुंगे पुल हालसम्मकै सबैभन्दा लामो ५ सय ६७ मिटर र १ सय ३८ मिटर उचाइको हुनेछ।











प्रतिक्रिया