श्रीमती संघ ३५औं वर्षमा प्रवेश

0
Shares

कर्ण प्रधान, काठमाडौं  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी श्रीमती संघको ३५औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले संघलाई निरन्तररूपमा सहयोग गर्ने प्रहरी कर्मचारी तथा सेवामूलक कार्यमा सहयोग पुर्याउने महानुभावलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो।
सोे कार्यक्रममा खनालले संघबाट प्रकाशित वार्षिक स्मारिका ‘सहचरी’को विमोचनसमेत गर्नुभयो। कार्यक्रमा सेवा भावले स्थापित संघले समाजिक सेवामा पुर्याउँदै आएको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संघले थप जनमुखी कार्य गर्दै अझ बढी योगदान पुर्याउने विश्वास लिएको बताउनुभयो।

समयसँगै संघको भूमिकामा समेत परिवर्तन आउनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले महिला हिंसा एवम् महिला तथा बालबालिकाविरुद्ध हुने अपराध न्यूनीकरण गर्न र लागूऔषध दुव्र्यसनीलाई सही मार्गमा ल्याउन संघले खेलेको भूमिका सबैको मन मनमा पुग्नुपर्ने बताउनुभयो।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले २०७५ सालमा संचालित एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी विद्यालयका छात्रछात्रा तथा प्रहरी कार्यालय सहयोगीका सन्ततीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो।

 समारोहमा संघकी अध्यक्ष खनालले संघले प्रकोप पीडितलाई सहयोगी हात र आश्रय उपलब्ध गराएको र विविध दुव्र्यसन र कुलततर्फ लागी बाटो बिराएकालाई पुन सही मार्गमा ल्याउने आधार बनेको उल्लेख गर्दै आसरा सुधार केन्द्रलाई धरानको पानबारी र काठमाडौंको तिलगंगामा थप विस्तार गरेको जानकारी गराउनुभयो।

नेपाल प्रहरीले संचालन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा सामाजिक अपराध र विसंगति समाधानका लागि अनुकरणीय रहेको उल्लेख गर्दै अध्यक्ष खनालले उक्त अवधारणामा संघले समेत सक्रियताका साथ सहभागिता जनाउने बताउनुभयो।

 साथै संघले यस वर्षबाट प्रदेश प्रहरी विद्यालयहरूका प्रहरी कर्मचारी तथा अमर प्रहरीका सन्ततीमध्ये उत्कृष्ट विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने कार्य शुरू गरेको  बताउनुभयो।