बारपाकमा पहिराेले घर बगाउदा गाेठमा रात काट्दै बासिन्दा

0
Shares

गाेरखा । बुधबार राति भारी वर्षापछि आएको पहिरोले बारपाकको रुतुक गाउँका १२ घर विस्थापित भएका छन् । करिब तीनघण्टासम्म आएको वर्षापछिको पहिरोले स्थानीय देवबहादुर गुरुङको घर बगाएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिए ।

घरघरमा पहिरो पसेपछि स्थानीयले भैंसीको गोठमा रात काटेको उनले बताए । ‘गाउँमा पहिरो पसेपछि ५/६ घर वारीको डाँडाको, ५/६ घर पारीको डाँडाको भैँसीको गोठमा बसेर रात काटियो’, उनले भने, ‘अहिले बिहान गाउँमा फर्केर आउँदा त एउटा पसल घर बगाएर लगेको रहेछ । अरु घरमा पनि पहिरो पसेछ ।’

गाउँमा रहेको ट्याक्टर पनि पहिरोले पुरिएको उनले बताए । विभिन्न गाउँका ३२ घरधुरी २०७२ सालको भूकम्पबाट विस्थापित भएर रुतुकामा बस्दै आएका थिए । ‘थलीडाँडा, पैलम, दरगङबाट यहाँ सुरक्षित छ भनेर आएर बसेको यहाँ पनि पहिरोले लग्यो, ‘बारपाक ठूलो गाउँको नालाबाट आएको बाढीले हाम्रो गाउँ बगाएको हो ।’ बनाउँदा बनाउँदैको नाला ठेकेदारले गाउँमाथि ल्याएर अलपत्र छाडेका कारण यस्तो अवस्था आएको हो ।

पहिरोले थलीडाँडा पनि जोखिममा छ। अलगंङ र थलीगङ बीचमा ठूलो पहिरो झरेर गाउँ जोखिम भएको हो। पहिरोका कारण स्थानीय ११ घर जोखिममा रहेकोछन् । गाउँमा पहिरो पसेपछि घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । ‘एउटा पसल घर पूर्ण रुपमा क्षति भएको भन्ने खबर आएको छ। करिब १४ लाख बराबरको धनमाल बगाएर लगेको अनुमान छ’, एसपी अधिकारीले भने ।

पहिरोका कारण उत्तरी गोरखा जाने आरुघाट सडकको आरुघाट, सोती खण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।