नेयमारलाई ऋणमा सम्झौता गर्ने

0
Shares

मेड्रिड, (एजेन्सी) । बार्सिलोनाले आफ्नो पूर्व खेलाडी नेयमारलाई क्लबमा भित्र्याउने कोसिस जारी राखेको छ। यसै साता पेरिस सेन्ट जर्मेनबाट नेयमारलाई अर्को गृष्म सिजनमा स्थायी सम्झौताको विकल्पका साथ ऋणमा सम्झौता गर्ने कोसिसमा रहेको छ।

क्लबले ईएसपीएन एफसीलाई बताएअनुसार आगामी वर्ष २०२०मा ट्रान्सफर मूल्य कति हुने त्यो पनि उल्लेख गरिनेछ। यसअघि फिलिप काउटिन्होलाई दिएर नेयमार क्लबमा ल्याउने योजना बनाएको थियो। तर लिभरपुलका पूर्व खेलाडी सोमबार नै बायर्न म्युनिकमा स्थानान्तर भएका थिए।

नेयमारका लागि बार्सिलोनाले गत सातालगातार छलफल पनि गरिरहेको थियो। पेरिस सेन्ट जर्मेनले भने बार्सिलोनाको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ। ब्राजिलियन स्ट्राइकर २ वर्षअघि २ सय २२ मिलियन पाउन्डको विश्व कीर्तिमानी रकममा स्पेनी क्लबबाट पेरिसमा पुगेका थिए।

पेरिसले ठूलो रकम मागिरहेको छ। बार्सिलोनाले भने चार खेलाडी लागि यसै गृष्म सिजनमा २ सय मिलियन पाउन्डभन्दा बढी रकम खर्च गरिसकेको छ। स्रोतले जनाएअनुसार पहिले ८० मिलियन पाउन्डसँगै काउटिन्हो र मिडफिल्डर इभान राकिटिचको प्रस्ताव राखिएको थियो।

पेरिसले भने काउटिन्हो र सेमेडोसँगै १ सय २० मिलियन पाउन्डको माग गरेको थियो। बार्सिलोनाले १ सय मिलियन पाउन्ड दिने तयारीमा रहेको पनि स्रोतले जनाएको छ।

बार्सिलोनाका लागि समस्या भनेको रियलमेड्रिड हो। नेयमारलाई किन्न उत्सुक हुनेमा मेड्रिड पनि रहेको छ। मेड्रिडका खेलाडी पनि नेयमारलाई सान्टियागो बेर्नाबेउमा स्वागत गर्न तयार रहेकाछन्। क्लबले पउल पोग्बालाई किन्न नसकेपछि नेयमारमाथि उनीहरूको नजर परेको मेड्रिडले भन्दै आएको छ।

तर बार्सिलोनाका लागि एउटा कुरोले ढुक्क गरेको छ। त्यो हो नेयमारले अझै क्याम्प नउमा फर्कने मन बनाइरहेका छन्। तर उनले मेड्रिडमा ढोका बन्द भने गरेकाछैनन्। यही कारणले उनी चुपचाप रहेको पनि जेरोर्ड पिकेले दुई साताअघि बताएका थिए।