रेडिअन्ट ‘बी’ को दोहोरो जित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। आयोजक रेडिअन्ट ‘बी’ ले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्ट ‘बी’ ले पहिलो खेलमा एलआरआईलाई ३७–६ ले सहजै पराजित गर्यो। रेडिअन्ट ‘बी’ को जितमा सालिक लामिछानेले १२ अंक योगदान गरे। उपेन्द्र बस्नेतको ११ अंक सहयोगमा रेडिअन्ट ‘बी’ ले जेनिअमलाई ५०–२५ ले हरायो।

त्यस्तै नेपाल सेन्ट्रलले आयोजक रेडिअन्ट ‘ए’ लाई २९–१० तथा एआईले विस्डमलाई ३१–१९ ले पाखा लगाए। नेपाल सेन्ट्रलका प्रफुल्लले १५ तथा एआईका सुशान्त कुँवरले १२ अंक जोडे।

जुनियर ब्वाइजमा रेडिअन्टले एलआरआई ३७–११ तथा नेपाल सेन्ट्रलले एआईलाई १३–१२ ले पन्छाए। रेडिअन्टका राज रोकाले ११ तथा नेपाल सेन्ट्रलका रोहितले ५ स्कोर गरे। सिनियर गल्र्समा एलआरआईले ज्योति एकेडेमीलाई १७–८ तथा न्यु भिजनले नेक्ससलाई १०–५ ले निरास पारे। एलआरआईकी सोनिया राणाले ७ तथा न्यु भिजनकी युनिशा बुढाथोकीले ४ अंक जोडे।

प्रतियोगिताको प्याब्सनका सहसचिव सूर्यबहादुर भण्डारी र रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे।

भदौ १३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २३, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन्।