हारसँगै समूह चरणबाटै बाहिरियो नेपाल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। माल्दिभ्ससँग सिधा सेटमा हारेर आयोजक टोली नेपाल ललितपुरमा जारी पाँचौं एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।

बिहीबार समूह ‘ए’ को अन्तिम लिग खेलमा जित्नै पर्ने दवाब भएको नेपालले माल्दिभ्ससँग २५–२२, २५–२१ र २५–१४ को सोझो सेटमा हार बेहोरेको हो।

यो हारले नेपालको सेमिफाइनल पुग्ने लक्ष्य समाप्त भयो भने माल्दिभ्स एक जितले अन्तिम चारमा पुगेको छ। यो समूहबाट किर्गिस्तान पहिल्यै अन्तिम चारमा प्रवेश भएको हो। बाहिरिएको नेपालले अब पाँचौ स्थानको लागि प्लेअफ खेल्नेछ।

अघिल्लो संस्करणमा कांस्य पदक जितेको नेपालले यस प्रतियोगितामा एक सेट पनि जित्न सकेन। घरेलु टोली पहिलो खेलमा पनि किर्गिस्तानसँग सिधा सेटमा पराजित भएको थियो।

यो खेलमा नेपालले हजारौं दर्शकको मन जित्न सफल भएको थियो। तर माल्दिभ्सविरुद्धको खेलमा नेपालले किर्गिस्तानविरुद्ध गरेको प्रदर्शनलाई दोहोर्याउन नसक्नु पनि हारको कारण बन्यो।

यस्तै यो खेलअगाडि हेड टू हेड हेर्ने हो भने नेपाल नै अगाडि रहेको छ। नेपालले दक्षिण एशियाली प्रतिद्वन्द्वीविरुद्ध ६ भेटमा चारमा जित हात पारेको छ। जबकी माल्दिभ्सले दुई खेलमा नेपाललाई हराएको थियो। तर यो तथ्यांकले नेपाललाई हौसला प्रदान गर्न सकिएन।

लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा नेपाल भन्दा राम्रो प्रदर्शन गर्यो माल्दिभ्सले। हजारौं घरेलु दर्शकको सामु नेपालको प्रदर्शन बिर्सनलायक थियो।

पहिलो सेटदेखि नै माल्दिभ्स नेपालमाथि हाबी भएको थियो। पहिलो प्राविधिक विश्रामसम्म नेपाल माल्दिभ्ससँग ८–३ अंकले पछि परेको थियो। विश्रामपछिको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै १०–१० अंक बराबरी गर्न सफल भयो। तर पाहुना टोलीले फेरि लगातार अंक जोडेर ४ अंकको अग्रता लिन पुग्यो। यसपछि भने नेपाल पछि पछि नै चल्यो र सेट गुमाएको थियो।

दोस्रो सेटमा नेपालले शानदार शुरूआत गर्दै ८–४ को अग्रता लिएको थियो। कप्तान इम राना, नरेन्द्र गिरी, हरि अधिकारी, राजेन्द्र विष्ट, धनबहादुर भट्टको तालमेल निकै जमेको थियो। तर प्राविधिक विश्रामपछि शुरू भएको खेलपछि भने माल्दिभ्सले लगातार अंक जोड्यो।

नेपाली खेलाडीको नियन्त्रण डिफेन्स, ब्लक र सर्भिसमै कमजोर बन्न पुग्यो। यसले राम्रो खेलिरहेको माल्दिभ्स टोलीलाई प्रत्यक्ष फाइदा भयो र अग्रता ३ अंकको बनायो। जुन अन्तिमसम्म पनि रह्यो र नेपालले सेट गुमाउन बाहेक अर्को विकल्प रहेन।

दुई सेट हारेपछि खेलमा बनिरहन नेपालमाथि तेस्रो सेट जित्नै पर्ने ठूलो दवाब रह्यो। तर जुन प्रदर्शन चाहिएको थियो त्यो भएन। यो सेटमा नेपाली खेलाडीको प्रदर्शन निकै कमजोर रह्यो। नेपालको एकपछि अर्को गल्ती पनि माल्दिभ्सलाई अग्रता लिन सहज भएको थियो।

माल्दिभ्सले शुरूमै ८–२ को अग्रता लिएर नेपालमाथि पूरै नियन्त्रण बनाएको थियो। अन्तमा उक्त सेट नेपालले ११ अंकको ठूलो अन्तरले गुमाएको थियो। योसँगै नेपालको आफ्नै कोर्टमा उपाधि जित्ने आशा पनि समाप्त भएको छ।

सेमिफाइनल समीकरण पूरा
तुर्कमेनिस्तानको जितसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ‘ए’ बाट किर्गिस्तान र माल्दिभ्स तथा समूह ‘बी’ बाट उज्बेकिस्तान र तुर्कमेनिस्तान क्रमशः शीर्ष दुई टोली हुँदै अन्तिम चारमा पुगेका छन्। अन्तिम चारमा किर्गिस्तानले तुर्कमेनिस्तानसँग र उज्बेकिस्तानले माल्दिभ्ससँग खेल्नेछन्। तुर्कमेनिस्तान गत संस्करणको विजेता समेत हो।