काठमाडौं विश्वविद्यालयको भावी स्वरूप निर्धारण गर्ने काम कार्यकारी परिषद्ले गर्दछ, जसमा पहिलो पटक महिला सदस्य पुग्नुभएको छ। विश्व विद्यालयको कार्यक्रम बनाउने, नीति निर्माणलगायत विद्यमान अवस्थालाई सम्बोधन गर्न आवश्यक पर्ने नीति नियमहरूको परिमार्जन गर्नका लागि सिफारिस गर्ने निकाय कार्यकारी परिषद्मा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस्बाट वरिष्ठ महिला शिक्षक एक्कुमाया पुनलाई शिक्षकहरूले निर्विरोध सिफारिस गरे। प्रस्तुत छ, विगत २६ वर्षदेखि अंग्रेजी विषय पढाउँदै आएकी सहप्राध्यापक एक्कुमाया पुनसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानी:
कार्यकारी परिषद्मा सदस्य नियुक्त भएर जाने प्रस्तावलाई तपाईंंले कसरी लिनुभयो ?
स्कुल अफ आर्टस्मा कार्यरत सबै शिक्षक साथीहरूले वरिष्ठ शिक्षक तथा महिला भएको हुनाले मलाई सर्वसम्मतबाट कार्यकारी परिषद्मा शिक्षक प्रतिनिधिका रूपमा सिफारिस गरेकाले मैले उहाँहरूको प्रस्ताव स्वीकारेको हुँ र यसकै आधारमा कार्यकारी परिषद्ले मलाई परिषद्मा शिक्षक प्रतिनिधिका रूपमा मनोनयन गरेको हो।
यो प्रक्रियाले विगतको परम्परालाई तोडेर स्कुलअनुसार सोही स्कुलका शिक्षकहरूले नै छानेको व्यक्ति कार्यकारी परिषद्मा जाने प्रणालीलाई संस्थागत गर्ने हुनाले म यो प्रस्तावप्रति सकारात्मक छु।
तपाईंको रुचिको विषय के हो र अब कार्यकारी परिषद्मा गइसकेपछि के गर्नुहुन्छ ?
म नितान्त प्राध्यापनमा रुचि राख्ने व्यक्ति हुँ। मैले स्कुल अफ साइन्समा लेक्चर पदबाट काठमाडौं विश्वविद्यालयमा प्रवेश गरेको हुँ। पछि गएर यही स्कुलको अंग्रेजी विषयको इन्चार्जसिप लिएर काम गरें। हाम्रो टिम शिक्षक र विद्यार्थी सबैका माझ लोकप्रिय नै थियौं। अनुसन्धान, अध्यापन गराउने रुचिसँगै स्नातक तहको मिडिया अध्ययनको पनि कल्पना गर्यौं।
हामी अंग्रेजीका शिक्षक भएकाले साइन्स र इन्जिनियरिङका विद्यार्थीहरूलाई मात्र पढाएर चित्त बुझेको थिएन। हामीले हाम्रै विधाअन्तर्गत पनि पढाएर हासिल गरेका ज्ञानको सदुपयोग गर्ने भनेर मिडिया अध्ययनको कल्पना गरेका थियौं। त्यतिबेला नेपालमा मिडियाको समय आइरहेको थियो।
मिडियालाई मर्यादित, व्यवस्थित बनाउनका लागि भाषागतरूपमा पनि बलियो बनाउँदै लैजाने क्रममा त्यहीअनुसारको कोर्सको विकास गरेका थियौं।
यसका लागि नेपाली र अंग्रेजी दुवै भाषामा बलियो भएर गयो भने राम्रो हुन्छ भन्ने हाम्रो ठम्याइ थियो। सोहीबमोजिम हामीले स्नातक तहको मिडिया अध्ययनको कोर्स डिजाइन गर्यौं र सफल पनि भयौं। यस प्रोग्राम समय सापेक्ष बनाउन हामी नियमितरूपमा कोर्सको अपडेट गर्दै आएका छौं।
कहिलेबाट आमसञ्चारको विषयमा अध्यापन गर्न शुरू गर्नुभयो ?
सन् २००६ देखि काठमाडौं विश्वविद्यालयमा आमसञ्चारको विषयमा पढाइ शुरू भयो र सन् २०१३ देखि हात्तीवन गएर यो कार्यक्रम चलायौं। मिडिया स्कुल अफ साइन्सअन्तर्गत नभई स्कुल अफ आर्टस्अन्तर्गत शुरू
गरेका हौं।
आमसञ्चारको विषय निकै फराकिलो क्षेत्र हो यस विषयमा कसरी अघि बढ्दै हुनुहुन्छ ?
हामीले थप योजना बनाउँदै छौं। अबका दिनमा मिडिया अध्ययनको स्नातकोत्तर तहको अध्ययनको योजना गरिरहेका छौं। जसअन्तर्गत मिडिया सम्बन्धित अनुसन्धानात्मक कार्यहरूलाई जोड दिनेछौं।
काठमाडौं विश्वविद्यालयमा कुन कुन स्कुलमा अंग्रेजी विषयको पढाइ हुन्छ ?
ल, साइन्स, इन्जिनियरिङ, आर्टस्, एजुकेसन तथा व्यवस्थापनअन्तर्गतका सबै एकेडेमिक प्रोग्रामहरूमा अंग्रेजी विषयको पढाइ हुन्छ। साथै यो विश्वविद्यालयमा नेपाली विषयबाहेक सबै विषयको अध्ययन अध्यापन अंग्रेजी भाषामा हुन्छ।
आमसञ्चार विधाको अध्ययन केन्द्रीय कार्यालय परिसर धुलिखेलमा सञ्चालन भएको समयमा स्कुल अफ आर्टस्अन्तर्गत अंग्रेजी विषयका शिक्षकहरू ६ जना थियौं। त्यसै गरी आमसञ्चार विधाको अध्यापन हात्तीवन ललितपुरमा स्थानान्तर भएसँगै २ जना हात्तीवनमा गयांै भने अरू शिक्षकहरू धुलिखेलमै रहेर पढाउँदै हुनुहुन्छ।
अंग्रेजी विषयमा नै धेरै जना शिक्षक हुनुहुँदोरहेछ । अंग्रेजी विषयमा नै छुट्टै कुनै योजना छ कि ?
अंग्रेजी पढाउने सबै प्रोफेसरहरूको चाहना भनेको काठमाडौं विश्वविद्यालयभित्र अंग्रेजी विधामा पनि राम्रो कार्यक्रम चलोस् भन्ने हो। त्यसमा हामी एकजुट भएर लागिपरेका छौं जसको फलस्वरूप अंग्रेजी विषयका लागि योजना अघि सार्न अभ्यास गरिरहेका छौं।
आउँदो वर्ष सम्भव भएसम्म स्नातक तहको अंग्रेजी अध्ययन शुरू गर्ने योजना बनाइरहेका छौं। त्यसपछि स्नातकोत्तर तहको अध्ययन र सँगसँगै अनुसन्धानका कार्यलाई पनि अगाडि बढाउने योजना हाम्रो छ।
शिक्षा दिने कुरामा कोटा र ३३ प्रतिशतमै अडान लिनु जरुरी छैन किनभने शिक्षा क्षेत्रमा कार्यरत व्यक्ति प्रत्यक्ष ज्ञान प्रदान गर्ने प्रक्रियामा संलग्न हुन्छ । त्यसैले यो सामान्य कुरा हैन । भावी पुस्तालाई योग्य र दक्ष बनाउने जिम्मेवारी बहन गर्न क्षमतावान्, सीप र दक्षता भएको व्यक्तिहरूकै आवश्यकता हुन्छ ती व्यक्ति चाहे पुरुष वा महिला हुन् ।
तपाईं पूर्ण तयारी अवस्थामा आउनुभएको छ कसरी व्यवस्थापन गर्नुहुन्छ त ?
साथीहरूको सद्भाव र विश्वासको आधारमा यो जिम्मेवारी मैले पूरा इमानदारीका साथ निभाउने अठोट लिएको छु। मेरो यसमा कुनै व्यक्तिगत स्वार्थ छैन। मैले यहाँ काम गर्ने अधिकांश टिचरहरूको हकहितको कुरा गर्ने हो। यसमा बुझ्नुपर्ने यथार्थ के हो भने कार्यकारी परिषद्मा अरू चार जना सदस्यहरू पनि हुन्छन् र एक्लै शिक्षक प्रतिनिधिले भनेर मात्र निर्णय गर्ने हुँदैन। यसलाई महत्वकांक्षीका रूपमा लिनुभन्दा सामान्य प्रक्रियाका अर्थमा स्वीकार्न ठीक देखिन्छ।
काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद् भनेको त्यो उच्च निकाय हो जसले भविष्यका कार्यक्रमहरू, नीति निर्माणलगायत विद्यमान अवस्थालाई सम्बोधन गर्न आवश्यक पर्ने नीति नियमहरूको परिमार्जन गर्नका लागि सिफारिस गर्ने सम्मको जिम्मेवारी यसको पर्दछ। म प्राध्यापक मात्र नभएर महिला पनि हुँ। समयसापेक्ष महिलाका विषयहरू पनि उठान गर्न पाउँछु भन्ने अपेक्षा गरेको छु।
काठमाडौं विश्वविद्यालयमा महिला प्रोफेसरहरू कतिको संख्यामा हुनुहुन्छ ?
काठमाडौं विश्वविद्यालयमा महिला प्रोफेसरको संख्या अत्यन्तै नगन्य रूपमा छ। कति स्कुलमा त छँदै छैनन्।
तपाईं एउटा पढेलेखेको महिला भएकै कारण यति लामो समय काठमाडौं विश्वविद्यालयलाई नजिकैबाट अध्ययन गर्नुभयो र यहीं रहेर पढाउँदै पनि हुनुहुन्छ। विश्वविद्यालयले दिन खोजेका र दिनुपर्ने कुरामा तपाईंको भूमिका कस्तो पाउनुहुन्छ ?
यो विश्वविद्यालयको उद्देश्य भनेको दक्ष वा क्षमतावान् विद्यार्थीहरू उत्पादन गर्ने हो जो रोजगारी लिनका लागि मात्र नभई रोजगारी दिनसक्ने क्षमताको होस्। यस उद्देश्य प्राप्तिका लागि सोहीअनुरूप कोर्सहरूको डिजाइन तय गर्छौं। सैद्धान्तिक र व्यावहारिक शिक्षालाई सँगसँगै लैजान कोसिस गरेका छौं।
अंग्रेजी विषयको प्राध्यापक भएकाले विद्यार्थीहरूको अंग्रेजी भाषाको दक्षता बढाउने कार्यमा म प्रत्यक्ष संलग्न छु साथै अन्य कोर्सहरू जस्तै कम्युनिकेसन स्किल, क्रिटिकल थिङ्किङ आदिमा पनि प्राध्यापन गरिरहेको छु। यी कोर्सहरू अत्यन्तै जरुरी भएका छन्। हाम्रा विद्यार्थीलाई अरूले जे भन्यो त्यसमा चित्त नबुझाई अझ बढी जान्ने बुझ्ने बनाउन क्रस कोइसन गर्न सक्ने र समस्या मात्र हैन समाधान खोज्नेतर्फ उन्मुख गराउनुुपर्छ।
घोकन्तेविद्या अब त्यति उपयोगी हुन्न। मेरो जोड अंग्रेजीमा कम्युनिकेसन स्किल कसरी सुधार्ने भन्नेमा रहनेछ। साथै विद्यार्थीहरूको एकेडेमिक एन्ड प्रोफेसनल राइटिङलाई जोड दिनु पनि त्यत्तिकै महत्वपूर्ण छ। यसरी सक्षम विद्यार्थी उत्पादन गर्ने प्रयासमा मैले पनि आफ्ना तर्फबाट महत्वपूर्ण भूमिका खेलेको जस्तो लाग्छ।
यत्रो २६ वर्षसम्म महिला कार्यकारी परिषद्मै नपुग्नुको कमजोरी के होला ?
काठमाडौं विश्वविद्यालय प्रवेश गर्ने महिला पुरुषसरह नै प्रतिस्पर्धा गरेर छिर्ने हो। उच्च शिक्षामा महिलाको संख्या अझै नै कम छ। काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर गरेका अझ सकेसम्म पीएचडी गरेका खोज्छन्। संख्या नै कम भएकाले यहाँसम्म पुग्नलाई मलाई नै त समय लाग्यो नि।
यो ठाउँसम्म पुग्नका लागि नीतिगत प्रावधान, दक्षता तथा अवसरको आवश्यक पर्दछ। यसअघिका वर्षहरूमा आवश्यक प्रावधान बनिनसकेको, अवसरको कमीका साथ साथै महिला शिक्षकहरूले दक्षता हासिल नगरिसकेको स्थिति भएर होला काठमाडौं विश्वविद्यालय व्यवस्थापनले उच्च पदमा नियुक्त गर्न सकेको थिएन।
यतिका वर्षपछि तपाईं आउनुभएको छ कस्तो योजना बनाउनुभएको छ ?
मेरो मान्यता के हो भने महिला र पुरुष एउटै योग्यता र क्षमताको व्यक्ति हुनुहुन्छ भने किन महिलालाई नछान्ने? अहिलेको व्यवस्थापन महिलामैत्री बनाउने पक्षमा देखिएको छ। काठमाडौं विश्वविद्यालयअन्तर्गतका स्कुलहरूमा पहिलो एसोसियट डिन हुने महिला पनि म नै हुँ।
महिलालाई अघि बढाउने छिटो बाटो खोज्ने र व्यवस्थापनलाई सुझाव दिने हो। काठमाडौं विश्वविद्यालयले प्राज्ञिक वर्षको शुरुआतमा नै शैक्षिक क्यालेन्डर तयार गर्छ र सोहीबमोजिम पूर्णरूपमा कार्यान्वयन पनि गर्दछ। यो नै यसको राम्रो पक्ष हो। विगतका शैक्षिक क्यालेन्डरमा महिलामुखी बिदाहरू, विश्व नारी दिवस, तीज जस्ता पर्वमा पनि बिदा हुँदैन थियो अहिले महिलामैत्री वातावरण बनाउने सन्दर्भमा यी बिदाहरू समावेश गरिएको छ।
यद्यपि नेपाल सरकारले महिलालाई दिएका कतिपय सुविधाहरू काठमाडौं विश्वविद्यालयमा अझै पनि लागू भएका छैनन्। जस्तै महिलाले पाउने सुत्केरी बिदा सरकारले ३ महिना घोषणा गरिसकेको छ भने काठमाडौं विश्वविद्यालयमा २ महिना मात्रै पाउने व्यवस्था छ। नेपाल सरकारमा सुत्केरी बिदा पुरुषलाई पनि छ, यहाँ छैन।
नेपाल सरकारले महिलाहरूका लागि व्यवस्था गरेका सुविधाहरू सम्भव भएसम्म काठमाडौं विश्वविद्यालयमा पनि लागू गरेर महिलाहरूलाई हौसला बढाउने नीतिहरू ल्याउनुपर्छ। नीतिगतरूपमा नै हामी जानुपर्छ। काम गर्नलाई मन र उत्साह भएर मात्र नहुँदो रहेछ सेवा सुविधा पनि नीतिगतरूपमै हुनुपर्छ।
स्कुल अफ मेडिकल साइन्समा त महिलाहरू धेरै हुनुहुन्छ नि त ?
त्यो विधाअनुसार पनि हुँदो रहेछ।
राज्यको तोकिएको निकायमा ३३ प्रतिशत भन्ने छ स्वास्थ्य तथा शैक्षिक केन्द्रमा यो लागू हुन्छ त ?
शैक्षिक र स्वास्थ्य संस्थामा चाहिँ मेरो विचारमा त्यो नियम लागू हुँदैन। शिक्षा दिने कुरामा कोटा र ३३ प्रतिशतमै अडान लिनु जरुरी छैन किनभने शिक्षा क्षेत्रमा कार्यरत व्यक्ति प्रत्यक्ष ज्ञान प्रदान गर्ने प्रक्रियामा संलग्न हुन्छ।
त्यसैले यो सामान्य कुरा हैन। भावी पुस्तालाई योग्य र दक्ष बनाउने जिम्मेवारी वहन गर्न क्षमतावान्, सीप र दक्षता भएको व्यक्तिहरूकै आवश्यकता हुन्छ ती व्यक्तिहरू चाहे पुरुष वा महिला हुन्।
भविष्यमा त्यो तहसम्म पुर्याउने भूमिका त खेल्नुहुन्छ होला नि ?
यो विषयमा म गम्भीर छु। योग्यता र क्षमता भएको शैक्षिक क्षेत्रमा लागेका महिला साथीहरू भन्ने नै हो भने हातमै गन्न सकिने मात्र छन्। त्यसमा पनि महिला भएकै कारण अगाडि बढ्ने र बढुवा लिने पक्षमा काठमाडौं विश्वविद्यालयका अधिकांश महिला शिक्षकहरू हुनुहुन्न।
हामी महिला शिक्षकहरू पुरुषसँग नै प्रतिस्पर्धा गरेर आएको कारण पनि यस्तो मान्यता राख्दछौं। जब कि अझै पनि हाम्रो समाजमा कुनै पनि पदमा लड्नका लागि महिलाभन्दा पुरुष नै योग्य हुन्छ भन्ने धारणा विद्यमान छ।
महिलाहरूलाई क्षमतावान् बनाउनका लागि कस्तो वातावरण सृजना गर्नुपर्छ जस्तो महसुस गर्नुभएको छ ? कोटा सिस्टम पनि छ यसले सघाउ पुर्याउँछ कि ?
यो विधाअनुसार हुन्छ, शिक्षा क्षेत्रमा कोटाले काम गर्दैन। शिक्षा भनेको प्रत्यक्षज्ञान प्रदान गर्नेसँग जोडिएको हुनाले क्षमता नै भएको मान्छे हुनुपर्छ।
शिक्षकमा नसकिए पनि विद्यार्थी भर्नामा त सकिएला नि त ?
स्कुल अफ आर्टस्को विद्यार्थी भर्नाको प्रक्रियामा म पनि संलग्न छु। यस स्कुलअन्तर्गतको कार्यक्रमहरू जस्तै ब्याचलर इन मिडिया स्टडिज, ब्याचलर इन कम्युनिकेसन डेभलपमेन्ट, ब्याचलर इन इकोनोमिक्स कार्यक्रमहरूमा महिला विद्यार्थीको संख्या क्रमिकरूपमा बढिरहेको छ।
अहिले त्यो संख्या झन्डै ६० प्रतिशतभन्दा बढी छ। हिसाब पढ्नुपर्ने विषयमा न्यून संख्यामा रहेकामा हालका दिनमा त्यसमा पनि क्रमिक सुधार देखिएको छ। कुनै समय स्कुल अफ इन्जिनियरिङको मेकानिकल विभागको ब्याचलर अफ इन्जिनियरिङ इन मेकानिकल इन्जिनियरिङ कार्यक्रममा महिला विद्यार्थी शून्य नै हुन्थ्यो त्यसपछि ३ जना महिला विद्यार्थीलाई छात्रवृत्ति दिने योजना ल्याइएको थियो। यसरी प्रयास गरे सुधार अवश्य हुन्छ।
काठमाडौं विश्वविद्यालयमा जस्तै सबै क्षेत्रमा महिलाहरू प्रतिस्पर्धामा जान कति समय लाग्ला ?
प्रयास गरे छिट्टै हुन्छ। प्रयास गर्नुपर्छ सम्भव छ।
अबको तीन वर्षमा के गर्ने लक्ष्य लिनुभएको छ ?
मैले काठमाडौं विश्वविद्यालयमा कार्यरत शिक्षकहरूको पेसागत वृद्धि विकासका लागि शिक्षकहरूको समयमा नै पदोन्नति हुने अवस्था, निर्बाधरूपमा आफ्नो शैक्षिक गतिविधि सञ्चालन गर्न पाउने वातावरण र नियमितरूपमा तलब भत्ता वृद्धिको सुनिश्चितता हुने कुराका लागि पहल गर्न म निरन्तर लागिपर्नेछु।
संक्षेपमा भन्नुपर्दा सम्पूर्ण शिक्षकको हकहितको कुरा र महिला शिक्षकको सम्मानजनक उपस्थिति तथा निर्णायक भूमिकामा बढुवा गर्न सकेको खण्डमा आफ्नो कार्यकाल सफल भएको मान्नेछु।
प्रतिक्रिया