गिर्दो अवस्थाको पारिवारिक सद्भाव


परिवारसँगको सद्भावमा मानव समुदाय रमाउन चाहन्छ। मानिस मात्रै होइन अन्य विविध सजीव प्राणीहरू परिवारमा रम्न पारखी हुन्छन्। मानिसले आफुलाई जङ्गली युगबाट चेतनाको कारणले समाजको जन्म गरायो। परिवर्तनसँगै आफुलाई विकसित र आधुनिक बनाउँदै लग्यो। बिस्तारै पारिवारिक प्रेम, सद्भाव सहचार्य र सहकार्यको ऊर्जामा मानवले रमाउँदै आनन्द लिन सिक्यो। यस कारण सामाजिक जीवन जिउनु मानिसको प्रकृति हो। यद्यपि आजसम्म आइपुग्दा विकासका कुरा, समृद्धिका नारा घन्किएका सुखद विचारसँग एउटा समाज मनोविज्ञान र कुसंस्कारको जटिलता छ।

उत्तरआधुनिक युगको विकास र भौतिक विकासको चरमोत्कर्षले मानवीय संवेदनालाई कालकोठरीमा हाल्दै गर्दा आत्मघाती हमला भइरहेका छन्। विकसित र समृद्ध मुलुकका मानिसमै मानसिक तनाव अर्थात् डिप्रेसन बढ्दो छ।

त्यहीँ आतङ्ककारी कुविचारले नरसंहार मच्चाएका छन्। यसको अर्थ हामीमा केही सत्यता छ तब हामीसँग कमसेकम भावनात्मक गहन बोधगम्यता परम्पराकै आधारमा विकसित छ भन्न सकिन्छ। तर आजको कुरा गरौँ, घरमा सँगै बस्ने मूलतः तीनपुस्ते सदस्य– नाति–नातिनी, छोरा–छोरी र हजुरबा–हजुरआमाका बीचमा सोच, विचार र व्यवहारको जुन अन्तर छ, त्यसले कता–कता मनोवैज्ञानिक झापड मार्दो रहेछ। यी समस्यालाई आजको आधुनिक सोचसँग दाँजेर संस्कृतिलाई बिर्सेका विचारले प्रहार गरेको लाग्छ। आधुनिकताका नाममा र परिवर्तनकारी सोचको दोसाँधसँग बाँच्ने युवा पुस्ताको संस्कार बन्दै छ।

आफ्नो परिवारको सामाजिक संस्कारलाई बोझिलो मान्दै गर्दा समाजमा तनावग्रस्तता, असामाजिकता, अमर्यादित व्यवहार हाबी बन्न गएको प्रतीत हुन्छ। आफ्नो भाषा, जाति, पहिचान, परम्परागत कलालाई केवल प्राचीनताको खोल ओढाउने, नवीनता भनेको विदेशी परम्परा नै हो भन्ने सङ्कुचन मौलाउँदा तिनले हाम्रा राम्रा चालचलनलाई नै बिर्सन पुग्दा रहेछन्। आफ्नै आफन्तसँग परिचय गर्न हिच्किचाउने आदतको विकास भइरहँदा सम्पत्ति र सोचले प्रहार गर्दो रहेछ। घरमा छोराछोरीका या त नातिनातिनीका आफन्त आउँदा बूढाबूढी अर्घेला बन्दा रहेछन्। त्यो पुस्तामा नमिल्नेभैmँ गरी व्यवहार गर्ने सोच र गाली बर्सिंदा वृद्धवृद्धाको मनोविज्ञान केवल अन्तरजलनमा सीमित बन्दो रहेछ।

 

कतिपय परिवारले वृद्धवृद्धालाई नातिनातिना हेर्ने गोठाला सम्झिएका वेदना सुनिन्छन्। यस प्रकृतिको वेदना र पीडा सभ्य र बुज्झकी परिवारका लागि सान्दर्भिक बन्दैन। तर शिक्षित परिवारमै पनि वृद्धवृद्धाले बोझिलो र अपहेलित बन्नु नपरेको भन्ने छैन। अझ एकल बनेका र आफू केही गर्न नसक्ने बनेर जीवनलाई घिसारिरहेकाको वेदना कम हृदयविदारक लाग्दैन।

 

नातिनातिनाको लवाइ–खवाइ, सङ्गत र सोच, छोराछोरीले आफ्ना बाबा–आमालाई गर्ने व्यवहारले परिवारमा एक किसिमको जटिलता उत्पन्न हुँदो रहेछ। वृद्धवृद्धालाई कमाउन छोडेपछि अपहेलनाको सिकार बनाउने छोराछोरी र पुरातनवादीको आरोप लगाउने नातिनातिनीको छेडछाडको पीडाले मनोवैज्ञानिक दर्द जागृत हुँदो रहेछ।

समाजको मनोविज्ञानले समाज विकासलाई अप्ठ्यारो पर्ने विषय केवल सम्पत्तिमा गएर ठोक्किँदो रहेछ। यसर्थ सरकारले दिने वृद्धभत्ताले कमसेकम ती बेसहारे बन्ने, अपमानित बन्ने अभिभावकले अलिकति सम्मान पाउने आशा जगाउँछ भन्दै गर्दा बाआमालाई सम्मान गर्ने समुदायलाई यी पक्षमा समावेश गर्न मिल्दैन। जसले बोझिलो ठानेर भ्रामक व्यवहार गर्छन् तब त्यहाँ ती दुःख र वेदना सहन विवश मन पिरोलिने हो।

हाम्रा सनातन संस्कृतिले बाबा–आमालाई भगवान् मानेर श्रद्धा गर्दै पूजा गर्न सिकाएको छ। यता आजको समाजले पैसा र भौतिक वस्तुलाई सबैथोक ठान्छ। पैसा कमाउनमै अन्धो बनेर दौडेको छ। प्रेम भरिएका सोचबाहेकका कतिपय परिवारले वृद्धवृद्धालाई नातिनातिना हेर्ने गोठाला सम्झिएका वेदना सुनिन्छन्। यस प्रकृतिको वेदना र पीडा सभ्य र बुज्झकी परिवारका लागि सान्दर्भिक बन्दैन। तर शिक्षित परिवारमै पनि वृद्धवृद्धाले बोझिलो र अपहेलित बन्नु नपरेको भन्ने छैन। अझ एकल बनेका र आफू केही गर्न नसक्ने बनेर जीवनलाई घिसारिरहेकाको वेदना कम हृदयविदारक लाग्दैन।

श्रीमान् या त श्रीमती बितेकाले आफ्नै कोखका सन्तानबाट, बुहारीबाट अपहेलनालाई भोगिरहँदा मनको बह पोख्ने अवसर पाउँदा रहेनछन्। छोरा–बुहारीबाटै त्यहाँ कुण्ठा र जलनको घात बढ्दो रहेछ। अर्को वेदनामा– भएका जति सन्तान लाखापाखा लागेपछि बिरामी हुँदा पानी तताएर दिने मान्छे नहुने परिवारलाई गरिबीको जहरले जुहारी खेल्दो रहेछ। कतिपय परिवारमा गरिबी र अशिक्षाका कारणले घट्ने यस्ता घटनामा साँच्चै अन्याय र अमानवीय घटना घट्दा रहेछन्।

भनिन्छ, वृद्ध र बालक उस्तै स्वभावका हुन्छन्। कतिपय अवस्थामा आफ्ना स्वभावलाई सुधार गर्ने सोच वृद्धवृद्धामा हुनुपर्ने बन्दो पनि रहेछ। रोगी भएका कारण दिसा–पिसाबको ठेगान नहुने परिस्थितिलाई नियाल्दा त्यहाँ बाध्यात्मक पीडा जन्मिदा रहेछन्। छोरा–बुहारीलाई घरको काम या त अफिस, जे छ त्यो गर्नै पर्यो। जति राम्रो गरे पनि अपजश र दोषारोपण गर्ने, शङ्कालु प्रवृत्तिले झोसपोलको आदत बसाइरहँदा काम गर्नेले जाँगर मार्दा रहेछन्। यद्यपि यी विषयमा सबैभन्दा ठूलो पक्ष प्रेम नै हो। आमाले बच्चासँग प्रेम भएकै कारण उसको सबैखाले कार्यलाई स्वीकार्छिन्। काखमै दिसा–पिसाब गर्छ। रातभरि रुन्छ या सुत्न दिँदैन। यी सबै कुरा आमाका लागि सामान्य हुन्, किनकि त्यहाँ प्रेमको नातो कसिलो हुन्छ। न त बच्चालाई ‘यी तिम्री आमा हुन्, यिनलाई प्रेम गर’ भन्नुपर्छ, न त आमालाई नै।

यसो भनिरहँदा आजभोलि यतिसम्म सुनिन्छ– आफ्नै आमाले आफ्नो सन्तान बेचेर अर्कोसँग पोइल गइन् रे ⁄ यस्ता तुच्छ व्यवहारसँग आमा शब्दकै अपमान हुन्छ। जब प्रेमभाव जागृत हुन्छ तब फोहोर, कमजोरी सबै मेटिँदा रहेछन्। यसर्थ पारिवारिक सद्भावलाई ग्रामीण समुदायदेखि परिवर्तित शहरिया सोचसम्मले अप्ठ्यारो पार्न पुग्दो रहेछ। स्तरगत पृथकताले मानसपटलमा जटिलता जाग्दो रहेछ। मानिस स्वयंले आफ्नो मर्यादा र जिम्मेवारीलाई भुल्न पुग्दा रहेछन्। घरकै आदरणीय वर्गले अपमानित हुनुपर्दा विगतका दुःख र वेदनालाई सम्झेर आँसु बहाउनु कम हृदयविदारक पक्ष होइन। बाँचुन्जेल घरका सन्तानले तिनको अमूल्य योगदानलाई कुल्चिने तर मृत्युपश्चात् पितृ तर्पण दिनुको के अर्थ रहला र ?

एउटा सफल परिवारमा पारिवारिक सद्भाव र एकता हुनुसँग समाज र परिवर्तित सोचको तालमेल आवश्यक हुँदो रहेछ। देशमा नवीन परिवर्तनका लहर आइरहँदा यस्ता समस्यालाई नजिकैबाट चियाएर सम्बोधन गर्ने, न्याय दिने सद्व्यवहारको नैतिक पाठको आवश्यकता छ। मान्छेहरू जेनेरेसन ग्याप भन्छन्। सोचले समाज मनोविज्ञानमा पुस्तागत भिन्नताले सोच र व्यवहारगत मनोविज्ञानको असन्तुलन बढ्न पुगेको भेटिन्छ। आपैmंलाई जन्माइ, हुर्काइ तातेताते गरेर प्रेमपूर्वक हुर्काउनेलाई निर्मम व्यवहार गर्ने सोचसँग मानवता मरेको अनुभूत हुन्छ। मानिसले आफ्नो अवस्था र परिस्थितिसँग जुध्नु बाध्यता हो। यद्यपि जानाजान अपहेलना गर्दा तिनको मनमा पर्ने असर र पीडालाई मनन गर्न सक्नुपर्छ। आजको समाजमा नैतिक आदर्शताको ज्ञान, हिजो भनिने पापको डर हट्दै जाँदा तनावले जकडिएको यान्त्रिक र एकलकाटे सोच बढ्दो छ।

जिउँदाको जन्ति र मर्दाको मलामी बनेर बाँच्ने हाम्रो नेपाली मौलिकता यान्त्रिकीकरणसँगै लोप हुनु दुःखद पक्ष हो। गाउँमा एकजना बिरामी पर्दा सारा गाउँले मिलेर सेवा गर्ने, भरमग्दुर सद्भाव पस्कने, भाइचारा र निःस्वार्थ मानवता झल्कने हाम्रा परम्परामा आज केवल पैसासँग तौलिएका तीता विडम्बना छन्। यी सबै आदर्शताका कुरा न सिकाइन्छ, न त व्यावहारिक मानिन्छ।

यसको परिणामतः मानिसमा जीवनको मूल्य भनेकै सम्पत्ति आर्जन मात्रै हो भन्ने सङ्कुचन मौलाउन थालेको छ। मानिस व्यस्त त बन्छ तर आहारिसे र अभावै अभाव बोकेर खुशी र सुखी हुनै सक्दैन। जति जे भएर पनि नपुग्ने, विदेश जानुलाई, शहरमा बस्नुलाई ठूलो मान्ने मनोभाव जागृत गराएको हुन्छ। तर अबको परिवेशमा बाटो, बिजुली, हस्पिटल, स्कुल, इन्टरनेटको विकास बढ्दै गर्दा मानिसले ग्रामीण सहचार्यात्मक जीवनतिर आकर्षण बढाउनु आवश्यकता हो। स्वच्छ वातावरण र पारिवारिक सद्भावमय जीवनमा रमाउँदा सुखी परिवारको कल्पना सम्भव बन्ला।

युगको परिवर्तन र विश्वसमुदायको विकाससँग मानिसले अब ग्रामीण स्थानमै रहेर तालमेल मिलाउने अवस्था सृजना र विकास गर्नु स्वास्थ्य, व्यवस्थित शहरीकरण, तनावरहित संस्कारयुक्त जीवन, पारिवारिक सद्भावको विकासजस्ता बहुआयामिकरूपमा लाभप्रद बन्छ। अवसरको सृजना गर्दै स्थानीय जनशक्ति गर्न स्थानीय सरकार सक्षम बन्नुपर्छ। हरेक व्यक्ति र परिवारमा सुखको बहार ल्याउन हाम्रै संस्कृति र परम्परा दर्बिला छन्। हरेक पर्व र सम्पदाले हामीलाई सुखी र सामाजिक संस्कारको जीवन जिउन सिकाएका हुन्छन्। अन्धविश्वासलाई बदलेर बाँच्नु आजको आवश्यकता हो। यद्यपि आफ्ना सकारात्मक र वैज्ञानिक आदर्शतालाई गलहत्याउनु पक्कै विषादपूर्ण कार्य बन्न पुग्छन्। आज उत्तर आधुनिक युगसम्मको सोचको विकास भइरहँदा समाजवादमा एकप्रकारको अन्तरघुलनका जटिलता छन्। यिनमा आध्यात्मिक नैतिक सोचको शिक्षा नहुनु यहाँको समाजको समस्या हो। प्राविधिक कर्मशीलताको खुशी र संस्कार जोगाउने सोचमा वैज्ञानिक सोच गाँसिनुपर्छ। नत्र कालान्तरमा हाम्रा संस्कृति पुनः उत्खनन गर्दै सुखी र समृद्धिप्रद भएका कुरा पुष्टि हुनेछन्। तिनको अभ्यास गर्नुपर्ने आवश्यकतालाई केलाइनेछ। तर त्यो स्थिति नआओस्। हाम्रा संस्कृतिमा केही विकृति नभएका होइनन् तर सुधारेर वैज्ञानिक बनाउनुपर्छ। आजको मागलाई त सम्बोधन गरौं तर हाम्रा राम्रा सोचको विकासमा शिक्षालाई पारिवारिक जीवन सिकाउन कन्जुस्याइँ नगरौं। आजका पुस्तालाई ठूलो बन्न मात्रै होइन, मान्छे बन्न सिकाऔं।

Email:[email protected]