रामेछापमा दलित पत्रकार संघ गठन


रामेछाप । रामेछापमा दलित पत्रकार संघ गठन भएको छ । रामचन्द्र विकको संयोजकत्वमा ९ सदसिय समिति रहने गरी शुक्रबार संघको गठन गरिएको छ । जिल्लामा बसेर विभिन्न राष्ट्रिय तथा स्थानीय संचार माध्यममा काम गर्ने दलित पत्रकारहरुको भेलाले विकको संयोजकत्वमा दलित पत्रकार संघ रामेछाप गठन गरेको हो ।

संघको सह–संयोजकमा लेख बहादुर वि.क., सदस्यहरुमा क्रमशः गम्भिर वि.क., नबराज बि.क., निर्मला नेपाली, मिलन वि.क., इश्वर धौलाकोटी, बिन्दा तोलाङ्गे र शुबास नेपाली रहेका छन् ।

कलमको माध्यमबाट समाज परिवर्तनमा लागेका जिल्लाका दलित पत्रकारहरुले दलित समुदायमा हुने गरेका विभिन्न समस्याको बारेमा साझा धाराण बनाएर विषय बस्तु उठाउन समेत सहयोग पुर्याउने गरी दलित पत्रकारहरु संगठित भएको संयोजक विकले बताउनुभयो ।
संघले आगामी दिनमा दलित पत्रकारहरुको क्षमता विकास सँगै व्यवसायिक पत्रकारितामा आफ्ना सदस्यहरुलाई फाइदा पुग्ने किसिमका कार्यक्रमहरु ल्याउने संयोजक विकले बताउनुभयो ।

एक दशक देखि पत्रकारितामा रहेका विक अहिले नेपाल समाचारपत्र दैनिकको जिल्ला संबददाता रहनुभएको छ । दलित पत्रकार संघ रामेछापको आगामी नेतृत्व ६ महिनामा सहमती गरेर आलोपालो पद्धतीमा गरिने निर्णय भएको संयोजक विकले जानकारी दिनुभयो ।