बैतडीमा बिरामीको संख्या बढ्दै


बैतडी । बर्षायामसंगै जिल्ला अस्पताल बैतडीमा बिरामीको संख्या बढेको छ । पछिल्लो केही हप्ता यता जिल्ला अस्पतालमा आउने बिरामीको संख्या बढेको हो । जिल्ला अस्पतालमा दैनिक एक सय बढी बिरामी आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताउनुभयो ।

मौसमी ज्वरो, रुघाखोकी, आउँ,टाइफाइडका बिरामी बढी आउने गरेको बिष्टले बताउनुभयो । यो समयमा पानीका मूहान दूषित हुने र सुरक्षित पानीको प्रयोग गर्नेको संख्या कम भएकाले बिरामीको संख्या बढेको डा. बिष्टले बताउनुभयो । दूषित पानीका कारण लाग्ने बिरामीहरुको संख्या बढी भएकाले मानिसले सुरक्षित पानीको प्रयोग गर्नुपर्नेमा डा बिष्टले जोड दिनुभयो ।

जिल्लाभरीका स्वास्थ्य संस्थाहरुमा विगतका तुलनामा बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । मौसमी ज्वरो, टाइफाइड, लगायतका बिरामी बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले जानकारी दिनुभयो । विगतको तुलनामा स्वास्थ्य संस्थामा आउने बिरामीको संख्या बढेको उहाँले बताउनुभयो ।