खाद्यान्नको चरम संकटमा हलेसी क्षेत्र, एक गेडो अन्न छैन


रामधन राई, खोटाङ । खोटाङस्थित हलेसी क्षेत्रका किसानहरुले खाद्यान्नको चरम संकट भोग्नुपरेको छ । लामो खडेरीसँगै मकैको बिरुवा सुकेका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार लगायतका वडामा खाद्यान्न संकट भएको हो ।

गत हिउँददेखिकोे खडेरीले खेतवारीमा लगाईएको मकैको विरुवा सुकेपछि मकै पाक्ने यो समयमा खाद्यान्नको चरम संकट भएको मेयर इवन राईले बताउनुभयो । सवै किसानको घरमा मकैको थाँग्रो हुनुपर्ने यो समयमा किसानको घरमा एक गेडो अन्न नभएको मेयर राईको भनाई छ ।

खडेरीले सुकाएपछि पूनः छरिएको मकैको विरुवालाई असार अन्तिमपछि परेको लगातारको बर्षाले कुहाएको थियो । पूनः तेश्रो पटक छरिएकोे मकै भर्खर उम्रिदैछन् । अर्कातर्फ बजारसँग जोड्ने सडक बर्षको कारण बिग्रेर भत्केकाले खाद्यान्न लगायतका उपभोग्य सामान ढुवानी गर्न सक्ने अवस्था छैन । हाल गाउँमा ऐंचोपैंचो गर्ने अन्न समेत नभएको स्थानीय सुनाउँछन् ।

११ वडा रहेको नगरपालिकामा खाद्य संकट क्षेत्र घोषणा गरी १ करोड ४० लाख रुपैंया राहत कार्यक्रमको लागि वजेट विनियोजन गरिएको छ । उक्त वजेटलाई विशुद्द कृषि पेशा अपनाउने घरपरिवार छनौट गरी वितरण गर्ने नगरको योजना छ । नगरपालिकाभित्रका अवरुद्द सडक सुचारु गराउन पहल भईरहेको मेयरले सुनाउनुभयो ।

यसैवीच, प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको टोलीले खाद्य संकट क्षेत्रको अनुगमन गरेको छ । १ नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राई समक्ष नगरपालिकाको खडेरी तथा वर्षा पीडित नागरिकलाई राहत उपलव्ध गराउन माग गरेको थियो । प्रदेशसभा सांसद राजन राईको नेतृत्वमा गएको टोलीले मूख्यमन्त्री राईलाई भेट गरी खडेरी र वर्षाको मारमा परेका सर्वसाधारणाको सहजताका लागि आवश्यक खाद्यान्न व्यवस्था गर्न माग गरिएको हो ।

नगरप्रमुख इवन राई, युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, नेकपा हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष सुरेन्द्र राई लगायतको टोलीले काठ्माण्डौं पुगेर विभिन्न संघीय मन्त्रालय समक्ष समेत राहतको माग राखेको थियो ।