ज्वाइँले गरे श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नुवाकोटमा भएको खुकुरी प्रहारमा परी तीन जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका वडा नम्बर ६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले आफ्नै ससुरालीमा गरेको खुकुरी प्रहारमा परी श्रीमती, सासू र सालो घाइते भएको प्रहरीले जनाएको छ ।

उनले सोमबार राती खुकुरी प्रहार गरेको थिए । खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको छ । वुटवलमा पनि उपचार सम्भव नभएपछि उनीहरुलाई चितवनको पुरानो मेडिकल कलेज लगिएको प्रहरीले बताएको छ ।

घटना पछि फरार रहेका चिरनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।