जिसस भक्तपुरको वार्षिक समीक्षा गोष्ठी


पुष्कर बुढाथोकी, भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दम्भ त्यागेर विकासमा एक जुट हुन आग्रह गर्नु भएको छ ।जिल्ला समन्वय समिति भक्तपुरले आज आयोजना गरेको दुईदिने जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

संविधानले व्यबस्था गरेको नीतिलाई मान्दिन भन्ने र जिल्ला समन्वय समितिलाई स्वीकार्दिन भन्दै विकासमा समन्वय नगर्ने जनप्रतिनिधीले दम्भ त्याग्नु पर्ने उहाँले भनाई राख्नुभयो । उहाँले स्थानीय विकास आफ्नै लागि भएकाले विकासमा साझेदारी समन्वय र सिर्जनशील भएर लाग्नु आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘तपाईहरु आलोचनात्मक बन्नुस्, गल्ती कमजोरीहरु पत्ता लगाएर सुधार्नेतर्फ केन्द्रित हुनुस् ।’ आफुलाई सधैकालागि जनप्रतिनिधि भएको दम्भ नगर्न सुझाब दिंदै उहाँले स्थानीय विकास आफ्नै लागि हो, पाँच वर्ष पछाडि चप्पल पड्काउने कि ? जुत्ता टल्काउने ? त्यो तपाईको आफ्नै हातमा छ ’भन्नुभयो ।

संविधानले स्थानीय तहमै कानुन बनाउनेसम्मको अधिकार दिएको भन्दै सांसद बस्नेतले स्थानीय आवश्यकता र सम्भावनालाई हेरेर जनप्रतिनिधिले काम गर्नुपर्ने औल्याउनुभयो । वार्षिक समीक्षा गोष्ठीलाई कर्मकाण्डीको संज्ञा दिदै उहाँले आम्दानी र खर्चको विवरण सुन्ने र सुनाउने कार्यमा मात्रै सिमित गर्न नहुने भनाई राख्नुभयो ।

समिक्षामा आम्दानी खर्चको विवरण मात्रै पेश गर्ने भन्दा पनि कहाँ, कहाँ कस्ता योजना सञ्चालन भए ? समय मै्र कति योजना सम्पन्न भए, कति गुणस्तरीय काम भयो ?, कस्ता चुनौती र समस्या आए, आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल भई निस्कर्ष निकाल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कर्मचारी लगायत तल्लो तहमा हुने गल्ती र कमजोरीको अपजस सरकारले लिनु पर्ने भन्दै सांसद बस्नेतले सरकारले समय मै बजेट पठाउने तर तल काम नहुँदा त्यसको अपजस र गाली सरकारले खानु पर्ने यस्तो प्रबृत्तिको अब अन्त्य हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद शशीजङ्ग थापाले भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले जिससको समिक्षा गोष्ठीमा भाग नलिएर के देखाउन खोजेको भन्नुभयो । उहाँले भन्नुभयो–“समिक्षा गोष्ठीमा नआउने स्थानीय तहले कि तर सरकार र संविधानलाई टेनेनन्, कि त कामै गरेनन् भन्ने बुझ्नु पर्छ, यस्तो अबस्था किन सृजना हुन्छ ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र,सुर्यबिनायक नगरपालिका उपप्रमसख जुना बस्नेत,नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपाल लगायतले स्थानीय तहको विकासका अवधारणाका बारेमा चर्चा गर्नु भएको थियो । समिक्षा गोष्ठीमा भक्तपुरमा रहेका स्थानीय तह, सरकारी कार्यालय, गैरसरकारी संस्थाहरुले आ.ब. २०७५/०७६ मा गरेका काम र आम्दामी तथा खर्चको विवरण पेश गरेका थिए ।