मान्बुको माझगाउँमा पस्यो पहिरो, १ सय ५० घर जोखिममा


गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–१ मान्बुमा पहिरो जाँदा गाउँ नै जोखिममा परेको छ । स्थानीय ताकुनडाँडामा गएको पहिरोले माझगाउँका झण्डै १५० घर धुरी जोखिममा परेको स्थानीय जितबहादुर गुरुङले जानकारी दिनुभयो । ‘भूकम्प गएको वर्ष सामान्य पहिरो खसेको थियो । त्यसपछि केही भएको थिएन’ उहाँले भन्नुभयो ‘यो वर्ष असार २०र२२ गतेबाट ढुङ्गा माटो झर्न थाल्यो, साउनमा ४र५ गतेका दिन झरि परेपछि त गाउँसम्मै पहिरो आइपुग्यो ।’

गाउँभन्दा धेरै माथि टाकुनडाँडाको टुप्पामा पहिरो गएपनि हालसम्म टेपचेत टोल, लामाथो टोल, फर्सी टोल लगायतका वस्तीमा प्रत्यक्ष असर पुर्याइसकेको छ । पहिरोले आधा दर्जन गाइवस्तु र भेडा बाख्रा राख्ने गोठ समेत बगाईसकेको छ ।

पानी परेको वखत बस्ती सम्म लेदो माटो आउन थालेपछि स्थानीय त्रसित भएका छन् । ‘पहिरो झरे पनि वनमै हराएको थियो, बिस्तारै खर्कमा रहेका गोठ पुर्न थाल्यो,’ उहाँले भन्नुभयो, ‘हुँदा हुँदै अहिले गाउँ माथि रहेको वारी समेत पुरिसकेको छ ।
पानी परेको बेला घर घरमै भलले लेदो माटो ल्याउँछ ।’

पहिरोले दुखः दिएपछि त्यहाँ रहेका गोठहरुलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीयले १०० मिटर पर रहेको बारीमा त्रिपाल हालेर गाईबाख्रा सुरक्षित स्थानमा सारेका छन् । भूकम्प गएको ४ वर्ष पछि लगातार पहिरो जान थालेपछि स्थानीय असुरक्षित भएका छन् ।
यता आरुघाट गाउँपालिका अध्यक्ष पुर्णवहादुर दाहाले सावधानी अनाउन स्थानीयलाई अनुरोध गर्नुभएको छ ।

‘यो पहिरोको बारेमा गाउँपालिकामा कुनै सूचना वा जानकारी आएको थिएन, मैले पनि भर्खरै थाहा पाएको हुँ,’ उहाँले भन्नुभयो, ‘वडा अध्यक्ष ज्यूलाई तत्काल स्थलगत अनुगमन गरेर प्रतिवेशन पेश गर्न भनेको छु । त्यतिञ्जेल सम्म सुरिक्षत रुपमा बस्न सबैलाई अनुरोध छ ।’
वडा अध्यक्ष शेरबहादुर घलेलाई २ दिन भित्र स्थलगत अनुगमन गरी गाउँपालिकामा प्रतिवेदन बुझाउन निर्देशन दिइएको उहाँले बताउनु भयो ।