सूचना प्रविधिको व्यापकतासँगै नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा पुगेका छन् । जसमा ९८ प्रतिशतले मोबाइल प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । सूचना प्रविधिको बढ्दो उपक्रमले नेपाली जनता सूचना प्रविधिमैत्री बन्दै जानु खुशीकै कुरा हो । तर, सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा आपराधिक घटना बढ्दै गएकोमा सरोकारवालाले चिन्ता प्रकट गर्न थालेका छन् ।
सूचना प्रविधिको अहिलेको युगमा हरेक विकास कार्यलाई द्रूत गतिमा लैजान सूचना र प्रविधिको उच्चतम प्रयोग अपरिहार्य नै हुन्छ । सूचनाको तीव्रतर विकास हुँदै जाँदा नेपालमा पनि साइबर अपराधको जालो चुनौतीका रुपमा फैलिँदै गएको पाइएको छ । इन्टरपोलले ‘साइबर क्राइम’लाई भौतिक, सांस्कृतिक र प्राकृतिक सीमाविहीन अपराध मानेको छ । जसको माध्यमबाट अपराधीहरूले अज्ञात स्थलबाट इन्टरनेटको गतिको फाइदा उठाई सहजरूपमा विभिन्न आपराधिक क्रियाकलाप गरिरहेका छन् ।
सामाजिक सञ्जालको व्यापकतासँगै त्यसको दुरुपयोगले निम्त्याएका घटना भयावह छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशानामा महिला तथा बालबालिका पर्ने गरेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने कारण अपराधीले उनीहरुलाई प्रयोग गर्ने गरेका छन् ।
ब्युरोमा सामाजिक सञ्जाल फेसबुकबाट गरिएका अपराधमा मात्रै १ हजार ४ सय ९८ उजुरी परेका छन् । प्रायः कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरूपमा फसाइने गरेको देखिएको छ । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायतका अपराध सार्वजनिक हुने क्रम पनि जारी छ । सामाजिक सञ्जालमार्फत झाँगिएको प्रेमसम्बन्ध, यौनसम्पर्क, मानसिक यातना हुँदै हत्यासम्म पुग्ने गरेको छ । अपराधीहरुले प्रेमको नाटक रच्दै गोप्य सम्बन्धमा रहँदाको अश्लील तस्वीर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थितिको अनुचित फाइदा लुट्ने प्रवृत्तिसमेत बढेको छ ।
प्रहरीकोमा परेका उजुरीका चाङले पनि साइबर अपराध बढोत्तरी भएको पुष्टि हुन्छ । प्रहरीले कैयन उजुरी अनुसन्धान गर्दा जबर्जस्ती करणी भएको निष्कर्ष निकालेको छ । साइबर अपराधमा मुद्दाका पीडितहरु १८ वर्षमुनिका किशोरी देखिनुले पनि साइबर अपराधको भयावह स्थिति उजागर गर्छ । यस्ता घटना दिनहुँ दोरिनु सामाजिक सञ्जालको दुरुपयोग भएको संकेत हो । यस्ता प्रकारका घटना दोहरिनु भनेको समुन्नत समाजका लागि पनि ठूलो चिन्ताको विषय हो ।
अहिले साइबर अपराध विश्वव्यापी समस्या बन्दै गएको छ । विकसित देशहरुमा आतंकवाद, जाजुसी र आमविनाशका हतियारभन्दा पनि ‘साइबर क्राइम’लाई सुरक्षा खतराका रुपमा लिइन्छ । सामाजिक सञ्जालमा गाली, मानहानि र चरित्रहत्या मात्रै भएका छैनन् । यसैलाई माध्यम बनाएर ठूला व्यावसायिक संगठनमा आक्रमण, साइबर अपराधीले लक्षित वर्ग छान्दै अनलाइनमा यौन विज्ञापन, यौन व्यापार तथा अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने धन्दासमेत फस्टाइरहेका छन् ।
नेपालको साइबर क्षेत्र असुरक्षित रहेको उदाहरण ‘साइबर रेप’ एक हो । साइबर अपराधका घटना बढोत्तरी हुनुमा राज्यको साइबर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो हुनु हो । साइबर अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको परिप्रेक्ष्यमा साइबर अपराधलाई बहसको विषय बनाइनु राम्रो थालनी हो । साइबर अपराधविरुद्धको अभियानमा राज्यको नीति र लगानीको पनि उत्तिकै खाँचो देखिन्छ । यस्ता अपराध न्यूनीकरणका लागि नागरिक र प्रहरीबीच हातेमालो गर्नु उत्तिकै जरुरी देखिन्छ ।
– मेघनाथ शर्मा, पाल्पा, हाल ः चितवन ।
सडक दुर्घटना बढ्नुमा चालकको लापरबाही
नेपालमा सवारीसाधनको बढ्दो चापसँगै सडक दुर्घटनामा वृद्धि भइरहेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौं उपत्यकामा मात्रै ११ लाखको हाराहारीमा साना–ठूला सवारीसाधन सञ्चालन भइरहेका छन् । एउटा सानो मुलुकका निम्ति सवारीसाधनको चाप आवश्यकताभन्दा बढी हो । त्यसमा पनि ट्राफिक नियम पालना नगर्ने र चालकको लापरबाहीका कारण गाडी दुर्घटना बढिरहेका छन् ।
अधिकांश सवारी दुर्घटनामध्ये धेरैजसो मोटरसाइकल र स्कुटरमा नै यात्रुको ज्यान जाने गरेको छ । गत आर्थिक वर्षमा उपत्यकामा २५४ व्यक्तिले ज्यान गुमाएकामा ११५ जनाको दुईपाङ्ग्रेबाट ज्यान गएको थियो । आव ०७५÷७६ मा देशभर १३ हजार ३६६ सवारीसाधन दुर्घटना हुँदा २ हजार ७८९ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीको उल्लिखित तथ्यांकले दुर्घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा हुने सवारी दुर्घटनामध्ये ८८.४६ प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट भएको देखिएको छ । यस्तै अवस्था उपत्यकाबाहिर पनि छ । बर्सेनि २५ सयभन्दा बढीले दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउने र अंगभंग भई शारीरिकरुपमा बाँच्न बाध्य हुनेको संख्या बढ्दो छ । बढ्दो दुर्घटनाले हाम्रा सडक तथा राजमार्गहरु असुरक्षित छन् भन्ने देखिन्छ ।
चालकका लागि ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिँदैन’ भन्ने ट्राफिक सचेतनासम्बन्धी यो सन्देश आजपर्यन्त पनि उत्तिकै प्रभावकारी र उपयोगी छ । तर अधिकांश दुर्घटना चालकको लापरबाहीबाटै हुने गरेको तथ्यांक सार्वजनिक हुँदा यो सन्देशलाई मनन गर्नेहरु विरलै भेटिन्छन् । आफ्नो सानो लापरबाहीले जीवन नै जान सक्छ भन्ने हेक्का राख्ने मानिसले कहिल्यै हतार गर्दैन ।
विभिन्न तथ्यले दुर्घटनाको प्रमुख कारण नै तीव्र गतिलाई मानेको छ । दुर्घटनामा परी अकालमा ज्यान गुमाउनेमा अधिकांश युवा छन् । युवापुस्ताले अन्धाधुन्ध बाइक कुदाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, भीडभाड र गाडीको चापलाई ख्याल नगर्ने, सडकको स्थिति विचार नगरी जथाभावी सवारीसाधन दौडाउने गर्दा दुर्घटना निम्तिने गरेको छ । त्यसमा पनि ठूला गाडीको दादागिरी र पेलाहा प्रवृत्ति दुर्घटनाको अर्को कारक बनेको छ ।
ट्राफिक प्रहरीले ट्राफिक सचेतना र चेकजाँचको गतिविधि दैनिकरुपमा सञ्चालन गर्दै आए पनि दुर्घटनाको उपक्रम न्यूनीकरण हुन सकेको छैन । जुनसुकै सवारीचालकले सडक अनुशासन पालना गर्ने र ट्राफिक नियमको सही कार्यान्वयन हुने हो भने दुर्घटना न्यूनीकरण हुन सक्छ । अन्यथा गत आर्थिक वर्षभन्दा यो वर्ष पनि दुर्घटनामा ज्यान गुमाउनुपर्नेको संख्या बढ्दै जानेमा दुईमत छैन । त्यसैले ट्राफिक प्रहरीले पनि दुर्घटना घटाउने विषयमा चेतनामूलक कार्यक्रमका साथै दुर्घटनाको दुष्परिणामबारे सतर्क गराउनु अति आवश्यक देखिन्छ ।
– दीपक पौडेल, भरतपुर–४ ।
प्रतिक्रिया