भोजपुर बस दुर्घटना :१० घाइते, १ को अवस्था गम्भिर


गणेश विष्ट, भोजपुर ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ ।

आज विहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते मध्ये ७ जना अस्पतालको बेडमा भर्ना भएको प्रहरीको भनाई छ । जसमा एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ । गम्भिर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्वु रहेको प्रहरीको भनाई छ । लिम्वुको टाउको लगाएत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा भोनपा ३ वस्ने २२ वर्षीय संगिता प्रधान, २४ वर्षीय मनिशा श्रेष्ठ, १७ वर्षीय अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय वालक विवेक श्रेष्ठ रहेको प्रहरीको भनाई छ ।

त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्वु, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीय सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटना पश्चात चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।